नाडाको कार्यकारिणी समिति सर्वसम्मतरूपमा निर्वाचित

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले प्रतिस्पर्धात्मक निर्वाचन आवश्यक नरहेकाले जानकारी दिएको छ ।
आज एक विज्ञप्ति जारी गर्दै नाडाले प्राप्त भएका उम्मेदवारीहरूलाई निर्वाचन अधिकृतको प्रत्यक्ष व्यवस्थापन तथा पर्यवेक्षणबाट जाँच, छानबिन र टुङ्गो भई नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको कार्यकारिणी समिति सर्वसम्मतरूपमा निर्वाचित भएको जानकारी दिइएको छ ।
विज्ञप्तिमा उल्लेख छ ‘मिति २०८२/०९/०९ मा सम्पन्न ४९औँ वार्षिक साधारण सभाको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट प्राप्त निर्देशन र स्वीकृति, साथै निर्वाचन अधिकृतको औपचारिक सूचनाको आधारमा निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया वैधानिक व्यवस्थाअनुसार सञ्चालन भइरहेको छ ।
निर्वाचन अधिकृत कार्यालयबाट प्रकाशित कार्यक्रमअनुसार हालसम्म सम्पन्न चरणमा उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न हुँदा अध्यक्ष पदमा १ उम्मेदवारी, प्रदेश सदस्यबाट ७ उम्मेदवारी तथा साधारण सदस्यबाट १८ उम्मेदवारी सङ्कलन गरिएको छ । जसमा साधारण सदस्यतर्फ १ उम्मेदवारी फिर्ता लिइएको छ ।’
प्रकाशित अन्तिम उम्मेदवारी नामावलीको संक्षिप्त विवरण निम्नानुसार छन्:
- अध्यक्ष पद- १ उम्मेदवारी
- प्रदेश सदस्य (Provincial Member)- ७ उम्मेदवारी
- साधारण सदस्य- १७ उम्मेदवारी
यस कारण, प्रतिस्पर्धात्मक निर्वाचन आवश्यक नरहेकाले पौष २५ गते तय गरिएको मतदान कार्यक्रम अब आवश्यक नहुने र निर्वाचनको परिणाम सोही मितिमा नाडा कार्यालयबाटै घोषणा गरिने जनकारी दिएको छ ।
उक्त निर्वाचन प्रक्रिया संस्थाको विधान, नियमावली, प्रचलित कानुनी व्यवस्था तथा निर्वाचन अधिकृतको कार्यतालिका अनुसार व्यवस्थित, पारदर्शी र विधिसम्मत ढङ्गले अगाडि बढिरहेको जानकारी दिइएको छ ।
नाडाले निर्वाचन प्रक्रियामा सहयोग, विश्वास र संयमता प्रकट गर्ने सबै सदस्यहरूका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा पनि संस्थालाई कानुनसम्मत, पारदर्शी, जिम्मेवार र सुदृढ ढङ्गले अघि बढाउने प्रतिबद्धता दोहोर्याएको छ ।








