नेपाली काँग्रेसमा विशेष महाधिवेशन तयारी सुरु

काठमाडौँ । नियमित महाधिवेशन नभएपछि नेपाली काँग्रेसमा विशेष महाधिवेशन तयारी सुरु भएको छ ।

यही पुस ६ देखि २८ गतेसम्म १५ औँ राष्ट्रिय महाधिवेशन गर्ने केन्द्रीय समितिको निर्णयअनुसार महाधिवेशनका कार्यक्रमहरू अघि नबढाइएपछि विशेष महाधिवेशन पक्षधरहरूले विशेष महाधिवेशनका तयारी थालेका हुन् ।

पार्टी सभापति शेरबहादुर देउवाले यही पुस २८ गतेसम्म महाधिवेशन गरिसक्नुपर्ने विधानतः बाध्यकारी व्यवस्था समेत लत्त्याउन खोजेको कारण विशेष महाधिवेशनको तयारी अघि बढाइएको पार्टी केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बताए ।

बिहीबार उनले बहुसङ्ख्यक महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर सङ्कलन गरेर केन्द्रीय कार्यालयमा बुझाएको स्मरण गर्दै सोहीअनुसार महाधिवेशन गरेर पार्टीको नीति, नेतृत्व र कार्यदिशा तय हुनुपर्ने बताए । उनले महाधिवेशन रोक्नकै लागि क्रियाशीलका सम्बन्धमा नियतवश विवाद सिर्जना खडा गरिएको उल्लेख गर्दै १५ औँ महाधिवेशनमा समेत १४औँ महाधिवेशनका प्रतिनिधिहरूमार्फत नेतृत्व चयन गरिने बताए ।

१४औँ महाधिवेशनका प्रतिनिधिहरूले नै पार्टीको नयाँ नीति र कार्यदिशाहरुका सन्दर्भमा छलफल गरेर आउने निष्कर्ष नै पार्टीको अगामी कार्यदिशाको रूपमा अगाडि बढ्ने जिकिर गरे । महाधिवेशनको अध्यक्षताको लागि पार्टी सभापतिलाई अनुरोध गरिने समेत बताए । उनले पार्टी महामन्त्री गगनकुमार थापा प्रतिवेदन तयारीमा लागिसकेको उल्लेख गर्दै पार्टीको विधानअनुसार सबैलाई मिलाएर विशेष महाधिवेशनको प्रक्रिया अगाडि बढाइने बताए ।

काँग्रेसको १४ औँ महाधिवेशनमा रहेका चार हजार सात सय ४३ महाधिवेशन प्रतिनिधिमध्ये ५४ प्रतिशतले विशेष महाधिवेशन माग गर्दै असोज २९ गते कार्यवाहक सभापति पूर्ण खड्कालाई हस्ताक्षर बुझाएका थिए । सोहीअनुसार विशेष महाधिवेशनको प्रक्रिया अघि बढ्नेको भन्दै उनले सबै प्रतिनिधिहरूलाई तयारी अवस्थामा बस्न आग्रह गरिएको पनि बताए ।

शिवाकोटीले भने ‘नेपाली काँग्रेसको बहुसङ्ख्यक महाधिवेशन प्रतिनिधिहरूले तीन महिना भित्र विशेष महाधिवेशनको माग गरेर केन्द्रीय कार्यालयमा असोज २९ गते एउटा प्रस्ताव दर्ता गरेका थिए । त्यो प्रस्ताव दर्ता भएपछि नेपाली काँग्रेस केन्द्रीय समितिको तर्फबाट त्यसलाई समेत रेफरेन्समा लिएर पुसको २६ देखि २८ गते सम्म १५ औँ राष्ट्रिय महाधिवेशन गर्ने भनेर तोकियो । त्यसका लागि तहगत अधिवेशनहरूको पनि त्यसैगरी तोकिएको थियो तर १६ गते पुसमा आइपुग्दा नेपाली काँग्रेसको तलको कुनै पनि वडाको अधिवेशन हुन सकेन । यो बेलामा नेपाली काँग्रेसका बहुसङ्ख्यक महाधिवेशन प्रतिनिधिहरूले जुन माग गरेका थिए र केन्द्रीय कार्यालयमा दर्ता गरेका थिए र पुस २८ सम्म महाधिवेशन विशेष महाधिवेशन गरिसक्नुपर्ने विधानतः बाध्यकारी व्यवस्था छ त्यो बाध्यकारी व्यवस्थालाई पनि यतिखेर आएर लत्त्याउन खोजेको, नियमित महाधिवेशन हुन नदिएको र विशेष महाधिवेशन लत्त्याउने यो अवस्था आएको छ । स्वयं पार्टी सभापतिले केही सञ्चारकर्मीसँग कुरा गरेको भनेर जुन हवाला दिएर समाचार आएको छ त्यसले हामी विधानलाई मान्दैनौ है भन्ने एक प्रस्ट सन्देश दिन खोजेको देखियो । त्यसकारण विशेष महाधिवेशन पक्षधरहरूले सक्रिय हुनुपर्ने अवस्था आयो । साथीहरूले विशेष कारण खुलाएर जुन महाधिवेशनको प्रस्ताव गर्नुभयो त्यो अनुसार महाधिवेशन जानुपर्छ र त्यहाँबाट नै पार्टीको नीति नेतृत्व कार्यदिशा यी सबै तय गर्नुपर्छ भन्ने भएर अब विशेष महाधिवेशनको तयारीमा अब लागेको अवस्था छ । हल बुकिङ लगायत कामहरू भइरहेको छ । २७ गते काठमाडौँको भृकुटीमण्डपमा हल बुक २७ र २८ का लागि त्यही एउटा विशेष महाधिवेशनको त्यहाँ गर्ने भनेर एउटा तय भएको छ । हामीले केन्द्रीय महामन्त्रीहरूलाई दुवै जनालाई पनि यसको जानकारी गराइएको छ । क्रियाशीलका सम्बन्धमा जुन हिसाबले तथ्याङ्क केन्द्रमा आउनु पर्ने र केन्द्रले फेरी त्यो निर्वाचन समितिलाई बुझाएर त्यो निर्वाचन समितिले तल पठाउनुपर्ने अवस्थामा त्यो केन्द्रमा कतिपय ठाउँमा केन्द्रमा आइपुग्ने कुरा डाटा इन्ट्री भयो । तर डाटा इन्ट्री बाहेक अरू पनि त मान्छेहरू थिए अरू पनि सदस्यहरू थिए उनीहरूको डाटा इन्ट्री भएन । कतिपय ठाउँमा अनावश्यक रूपमा रोकियो कतिपय ठाउँमा नियत बस रोकियो त्यसकारणले यो १५ औँ महाधिवेशनको प्रक्रियालाई जसरी पनि अवरुद्ध गर्ने नियत थियो । त्यसकारणले अब १५औँ महाधिवेशन हुन नसकिरहेको अवस्थामा तलबाट प्रोसेसबाट साथीहरू महाधिवेशन प्रतिनिधि छानिएर आउने अवस्था नभएको कारणले १५ औँ महाधिवेशन हुन सकेन तर विशेष महाधिवेशन हामीले बोलाउँदै गर्दा जुन १४ औँ महाधिवेशनका महाधिवेशन प्रतिनिधि हुनुहुन्थ्यो उहाहरुले नै यो पटक नयाँ नेतृत्वका लागि त्यो फेरि चार वर्षे तीन वर्षे पाच वर्षे भन्ने होइन एउटा सर्तका लागि खासगरी एक वर्षे कार्यकालका लागि केन्द्रीय सभापति सहितका केन्द्रीय कार्यसमिति चयन गर्दैछ । त्यसका लागि पुरानै १४ औ महाधिवेशनका महाधिवेशन प्रतिनिधिहरूले यो विशेष महाधिवेशनमा आएर आफ्नो मत प्रकट गर्छ त्यहाँबाट नयाँ नेतृत्व छान्छ र नयाँ नेतृत्व सँगसँगै नयाँ नीति र कार्य दिशाहरूका सन्दर्भमा पनि उहाहरुले घनिभूत छलफल गर्नुहुन्छ त्यो छलफलबाट जुन निष्कर्ष आउँछ त्यो निष्कर्ष नै पार्टीको आगामी कार्यदिशाको रूपमा अगाडी बढ्ने अवस्था हुन्छ ।’

उनले काँग्रेसजस्तो लोकतान्त्रिक पार्टीले आन्तरिक लोकतन्त्रको लागि आवश्यक गृहकार्य नगर्दा समस्या हुने भन्दै जनताको विश्वास कायम गर्न विशेष महाधिवेशनमा जानुपर्ने अवस्था आएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eighteen =