नदी किनारको मापदण्डसम्बन्धी मुद्दाको निरूपण छिटो होस् भन्ने हाम्रो पनि चाहना: मुख्य रजिस्ट्रार पौडेल

काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले नदी तथा खोला किनारमा लागू गरिएको मापदण्डसम्बन्धी मुद्दाको न्याय निरूपण छिटो होस् भन्नेमा अदालत गम्भीर रहेको बताएका छन् ।

पछिल्लो समय न्यायपालिकासम्बन्धि सामाजिक सञ्जालमा आएका नकारात्मक टीकाटिप्पणीबारे सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले काठमाडौँ उपत्यकाका नदी तथा खोला किनारमा लागू गरिएको थप मापदण्ड खारेजीको माग गर्दै आन्दोलित रहेको अवस्थामा सर्वोच्च अदालत पनि उक्त मुद्दा छिटो निरूपण होस् भन्नेमा गम्भीर रहेको बताए । तर कुनैपनि मुद्दा निरूपण गर्नका लागि विधि र प्रक्रिया हुने भन्दै विधि र प्रक्रियाअनुसार इजालसबाट निरूपण हुने बताए ।

सर्वोच्च अदालतले २०८० पुस ३ गते बागमती, विष्णुमतीलगायत मुख्य नदी तथा खोलाका दायाँबायाँ थप २०–२० मिटर क्षेत्र खाली राखेर मात्र संरचना निर्माण गर्न आदेश दिएको थियो । यसअघि २०६५ मा सरकारले बागमतीजस्ता नदीमा २० मिटर, धोबीखोलामा ९ मिटर र अन्य खोलामा ४–१२ मिटरसम्म मापदण्ड तोकेको थियो ।

उनले भने ‘आजैमात्रै माइतीघरमा जुलुस छ भन्ने मैले जानकारी पाएको छु । विषय छ २०–२० मिटरको हाम्रो बागमती करिडोरको । त्यो विषयको सन्दर्भमा सबै न्यायाधीशज्युहरु चिन्तित हुनुहुन्छ । हामी अदालतबाट त्यसको न्याय निरूपण छिटो होस्, भन्ने नै हाम्रो चाहना छ । तर त्यसको विधि र प्रक्रिया छ । विधि र प्रक्रियाअनुसार इजलासमा चढेर गएर इजलासबाट न्याय निरूपण हुनेकुरा हो ।’

उनले सरकार असहज हुने बित्तिकै न्यायपालिकामा मुद्दा बढ्ने गरेको बताए । न्यायपालिकाको गरिमामा कुनै आँच आउन नहुने पनि बताए । पछिल्लो समय सामाजिक सञ्जालमा न्यायपालिकाका सम्बन्धमा आएका नकारात्मक टीकाटिप्पणीबारे छलफल भएको सर्वोच्च अदालतकाप्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताए ।

छलफलमा प्रधानन्यायाधीश प्रकाशशमान सिंह राउतसहित न्यायाधीशहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 9 =