बैङ्कहरू तल्लो वर्गसम्म पुगेर अर्थतन्त्र चलायमान बनाउन खोजिरहेको छन्: कोइराला

काठमाडौँ । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले तल्लो वर्गसम्म बैङ्कहरू पुग्न खोजिरहेको बताएका छन् ।
ग्रामीण क्षेत्रसम्मै बैङ्कहरू अहिले पुगिरहेको बताउँदै उनले तल्लो वर्गलाई माथि उठाएर अर्थतन्त्र चलायमान बनाउन बैंक तथा वित्तीय संस्था निरन्तर लागिपरिरहेको बताए ।
सोमवार आर्थिक पत्रकार समाज (सेजन) ले गरेको कार्यक्रममा बोल्दै उनले बैंक तथा वित्तीय संस्थाले गरेका राम्रो कामहरू ओझेलमा परेको गुनासो गरे । उनले कार्यहरूले प्रश्रय पाउँदा बैंक तथा वित्तीय संस्थाहरूमाथि आक्रमणका घटनाहरू हुने गरेको समेत बताए ।
अध्यक्ष कोइरालाले भने ‘तल्लो वर्ग लागि उठाउन सकियो भने देशको इकोनोमी चलायमान हुनसक्छ । अहिले गभर्नरले पनि बैङ्कहरूलाई तल्लो तहमा जानुस् इकोनोमी उठ्छ भनिरहनुभएको छ । त्यसमा हामीले आफ्नो ठाउँमा मेहनत गरिरहेका छौँ । बैङ्कहरूले मेची महाकालीको प्रत्येक गाउँपालीका बैङ्कहरूका शाखा खुलाएका छौँ । वित्तीय साक्षरताको कामहरू पनि चलिरहेको छ । बैंकमा निक्षेप राख्नुस् है साहु महार्जनहरुलाई दिँदा भोली अप्ठ्यारो हुन्छ भनिरहेका छौँ । हामीले नै लोन प्रवाह गरेका कारण कति घरधुरी कति धेरै समृद्ध भएका छन् । यहाँ अहिले एकपक्षीय कुराहरुमात्रै भइरहेका छन् । जहिले पनि यो डुब्यो, त्यो डुब्यो भन्यौँ तर समृद्ध भएका कुराहरू गरेनौँ । ऋण नतिर्ने मनाशयका व्यक्तिहरूका बारेमा कहीँ पनि चर्चा भएन । खालि एकपक्षीय रूपमा बैङ्कहरूलाई अट्याक्क गर्ने काम भए । बैंक तथा वित्तीय संस्था नै एउटा यस्तो संस्था हो । सबैभन्दा बढी संगठित, अनुशासित, प्रोफेसनल संस्था नै बैंक तथा वित्तीय संस्था हो । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर सफल भएका मान्छेहरूको स्टोरी कम हुने गरेको छ । हुलदंगा मच्चाउनेहरूको बढी आउने गरेको छ ।’
कार्यक्रममा बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल २०८२ का संयोजक डा। रेवतबहादुर कार्की राष्ट्र बैंकको नियमन र नियन्त्रणले आज बैङ्कहरू अप्ठ्यारो स्थितिमा रहेको बताए । उनले बैंकिङ क्षेत्रको विकास परिणाममा मात्रै नभई गुणस्तरीयताको हिसाबले पनि दक्षिण एसियामै माथि रहेको बताए ।
उनकाअनुसार धेरै नियन्त्रणमा बैङ्कहरूलाई राष्ट्र बैंकले राख्न हुँदैन ।
कार्कीले भने ‘बैंकिङ क्षेत्रको जुन विकास भएको छ, गुणस्तरीयताको हिसाबले पनि दक्षिण एसियामै नेपाल त्यति तल छैन । तर पछिल्लो समय बैङ्कहरू अल्लि बढी नियन्त्रणात्मक देखियो । जस्तो– गाडी चलाउनुहुन्छ भने ब्रेक नै ब्रेक लगाएर हुँदैन ।’
विगतमा राष्ट्र बैंकले कार्यदल बनाउने तर ती सुझावहरूलाई कार्यान्वयन नगर्ने प्रवृत्ति छ । यसपटक आफूहरूले दिएका सुझावहरूलाई कार्यान्वयन गर्न गभर्नरले चासो देखाउनु सकारात्मक रहेको उनको भनाइ थियो ।
कार्यदलका संयोजक कार्कीले आफूहरूले बुझाएको प्रतिवेदनमा ‘बेसिक रेगुलेसन, मोर सुपरभिजन’ को अवधारणा अघि सार्दै प्रथम वर्गमा पर्ने बैङ्कहरूलाई ब्याजदर, सेवा शुल्क र आन्तरिक व्यवस्थापनमा पूर्ण ‘स्व–नियमन’को अधिकार दिन सिफारिस गरिएको जानकारी दिए ।
उनकाअनुसार बैंकिङ क्षेत्रमा रहेको उच्च तरलतालाई विद्युत् प्रसारण लाइन, सडक र पूर्वाधार निर्माणमा परिचालन गर्न निजी क्षेत्रलाई सहभागी गराउन सुझाव दिइएको छ । नेपाललाई वित्तीय शुद्धीकरणको ‘ग्रे लिस्ट’ बाट जोगाउन सम्पत्ति शुद्धीकरण निवारण ऐनको प्रभावकारी कार्यान्वयन र ‘सेन्ट्रल केवाइसी’ प्रणाली लागू गर्न जोड दिइएको र यसका लागि नगद कारोबारको सीमा १० लाखबाट घटाएर १ लाखमा झार्न समेत सिफारिस गरिएको उनले जानकारी दिए ।








