सौराहाको रापती नदीमा ‘क्यानोइ’को मज्जा (तस्बिरहरू)

सौराहा । हेटौंडाको चुरे पर्वत शृङ्खलालाई चिर्दै बग्ने रापती नदी जब चितवनको सौराहा आइपुग्छ, तब यसले आफ्नो रूप मात्र फेर्दैन, आन्तरिक तथा बाह्य पर्यटकका लागि एक विशेष आकर्षणको केन्द्र समेत बनाउँछ । सौराहाको पर्यटनको पर्यायवाची जस्तै बनेको छ- रापती नदीमा गरिने ‘क्यानोइ’ (डुङ्गा सयर) ।
प्रकृतिको काखमा रम्न चाहने पर्यटकहरूका लागि एउटै रूखको काठबाट बनेको परम्परागत डुङ्गाको यात्रा आफैँमा एक रोमाञ्चक अनुभव हो । रापतीको शान्त तर रहस्यमय बहावमा डुङ्गा खियाउँदै पर्यटकहरू यहाँको जैविक विविधतासँग साक्षातकार गर्न लालायित हुन्छन् । विशेषगरी दुर्लभ घडियाल गोहीलाई नजिकबाट नियाल्न र पानीमा तैरिरहेका चखेवा लगायतका चराचुरुङ्गीको कलरव सुन्न पाइने यो यात्राले मनलाई आनन्दित तुल्याउँछ ।
प्रायः सिमलको विशाल रूखलाई खोपेर बनाइने यो लामो र साँघुरो डुङ्गा हेर्दा जति परम्परागत लाग्छ, यसको सयर उत्तिकै साहसिक पनि छ । अनुभवी माझीले लामो बाँसको लग्गीको सहायताले नदीको बहाव र गहिराइ नाप्दै डुङ्गालाई अघि बढाउँछन् । नदीभित्रको ढुङ्गा, माटो र पानीको वेगलाई सन्तुलनमा राख्दै डुङ्गा खियाउनु चानचुने कुरा होइन ।
यसमा माझीको लामो अनुभव, सीप र उच्च सतर्कताको खाँचो पर्दछ । माझीका लागि यो एक जिम्मेवारीपूर्ण चुनौती हो भने पर्यटकका लागि एक अविष्मरणीय ‘एड्भेन्चर’ । हरियाली जङ्गलको बीचबाट बग्ने रापतीमा डुङ्गाको सयर गर्नु भनेको केवल यात्रा मात्र होइन, यो त प्रकृतिसँग नजिक हुने र जीवनका केही पल शान्त वातावरणमा बिताउने सुनौलो अवसर पनि हो ।
तस्बिरहरू :-









