रवि-बालेन-कुलमान एकताको चर्चामा कटाक्ष

साउथ इन्डियन फिल्मको हिरोजस्तो अवतारले देश बन्दैन : प्रदीप ज्ञवाली

काठमाडौं । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौं महानगरका मेयर बालेन शाह र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीचको सम्भावित सहकार्य र एकताको चर्चा चलिरहँदा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले यसलाई ‘भावुकताको लहर’ को संज्ञा दिएका छन् ।

राजनीतिक वृत्तमा नयाँ शक्तिको उदय र पुराना दलप्रतिको वितृष्णाबारे बहस भइरहँदा नेता ज्ञवालीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै देश निर्माण कुनै ‘चमत्कारी’ (तिलस्मी) पात्रबाट सम्भव नहुने जिकिर गरेका छन् । ज्ञवालीले अहिलेको चर्चालाई दक्षिण भारतीय (साउथ इन्डियन) चलचित्रको पटकथासँग तुलना गरेका छन् । उनले लेखेका छन्, ‘अहिले मानौं आजसम्म नेपाल नबनेकै अमुक व्यक्तिहरू नमिलेर हो भन्ने भाष्य निर्माण गर्न खोजिँदै छ । यो दक्षिण भारतीय चलचित्रमा कुनै नायक रङ्गमञ्चमा उत्रिएर ड्याक्क खुट्टा बजार्दा तुफान आएजस्तो र सबै खलनायक सोत्तर भएजस्तो भ्रम हो ।’

उनले यस्तो मिलनले देशलाई मुक्ति दिने ‘तारणहार’ जन्माउँछ भन्ने भ्रम नपाल्न सुझाव दिँदै देश निर्माणका लागि व्यक्ति नभई विचार, संस्था, प्रणाली र सामूहिकता आवश्यक पर्नेमा जोड दिएका छन् ।

ज्ञवालीले घुमाउरो शैलीमा नयाँ र वैकल्पिक भनिएका शक्तिहरूको विगत र वर्तमान शैलीमाथि पनि टिप्पणी गरेका छन् । उनले ‘सिंहदरबार जलाउने वा जल्दा उत्सव मनाउने’ प्रवृत्ति लोकतान्त्रिक प्रतिस्पर्धामार्फत सिंहदरबारमै पुग्न खोज्नुलाई भने सकारात्मक र स्वाभाविक मानेका छन् । यद्यपि, विचार मिल्नु र स्वार्थ मिल्नुमा फरक रहेको भन्दै उनले यसको परीक्षण समयले गर्ने बताए। 

दुई दशकअघि माओवादी आन्दोलनका बेला मिडियामा देखिएको ‘युफोरिया’ (उत्साह) को स्मरण गर्दै ज्ञवालीले अहिलेको चर्चालाई पनि त्यस्तै क्षणिक ‘मिडिया हाइप’ को संज्ञा दिएका छन् । ‘त्यतिबेला जनसरकार घोषणाको समाचार कभर गर्न हेलिकप्टर चार्टर गरिन्थ्यो, हिंसाको महिमागान हुन्थ्यो,’ उनले स्मरण गर्दै लेखेका छन्, ‘आज त्यो मिडिया हाइप कपुरको बास्ना जसरी विलोप भइसकेको छ। घोडा पानीदार हो कि होइन भन्ने टुङ्गो लामो दौडले नै तय गर्छ ।’

शासन प्रणाली, आर्थिक नीति, भूराजनीतिक सन्तुलन र संविधानको रक्षाजस्ता गम्भीर प्रश्नमा नयाँ शक्तिहरूसँग कुनै स्पष्ट विकल्प नभएको तर केवल नकारात्मकता, निषेध र घृणा मात्र रहेको उनको आरोप छ । उनले साथीहरूलाई समाजलाई ‘इमोशनल’ (भावुक) भन्दा पनि ‘र्‍याशनल’ (विवेकशील) बनाउन सुझाव दिँदै लेखेका छन्- ‘स्वप्न भङ्गताको क्षण साह्रै पीडादायी हुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =