सौराहामा वन्यजन्तु पर्यटनसँगै थारु नाचको आकर्षण (तस्बिरहरू)

सौराहा । विशेष गरी वन्यजन्तु पर्यटनको रूपमा परिचित सौराहा, थारु संस्कृतिका लागि पनि प्रसिद्ध छ । करिब ५३-५४ वर्षअघि सौराहामा बाह्य पर्यटकको आगमन सुरु भएसँगै स्थानीय थारु समुदायले होटल-होटलमा गएर पर्यटकलाई थारु नाच देखाउन सुरु गरे । यससँगै सौराहामा थारु संस्कृति हेर्न र बुझ्न आउने पर्यटकको सङ्ख्या बढ्न थाल्यो ।

थारु संस्कृतिलाई विश्वमाझ चिनाउन १७-१८ वर्षअघि थारु कल्चर सेन्टरको स्थापना गरेर स्थानीय थारु समुदायले संस्थागत रूपमा आफ्नो सांस्कृतिक नाच प्रदर्शन गर्न थाले । अहिले स्थानीय होटलले आन्तरिक र बाह्य पर्यटकलाई आफ्नै होटलमा थारू नृत्य देखाउने गरेका छन् । होटल भिस्टाका सञ्चालक रमेश सिलवाल सौराहाको पर्यटन गतिविधि ५० प्रतिशत थारूसँग केन्द्रित रहेको बताउँछन् ।

सौराहामा मुख्यगरी पर्यटकहरू हात्ती सफारी, जिप सफारी, डुङ्गा सफारी, जङ्गल वाक (भ्रमण) गर्ने, दुर्लभ वन्यजन्तु एकसििङ्गे गैँडा, बाघ, हात्ती, चित्तल, गौरीगाई, भालुहरू हेर्ने तथा प्रकृतिमा रमाउनुका साथै थारु संस्कृति र नाचमा पनि उत्तिकै रमाउने सिलवाल बताउँछन् ।

सौराहामा समूहगत रूपमा थारू युवायुवती मिलेर झमटा नाच, ठेकरा नाच, लौरो नाच, झुमरा डम्फु नाच प्रस्तुत गर्छन् । थारूहरूले आफ्नै मौलिक पोसाकमा सजिएर देखाउने सांस्कृतिक नाच हेर्न आन्तरिक एवम् बाह्य पर्यटक लालायित हुन्छन् । सिलवालका अनुसार सौराहामा अहिले करिब ११० वटा सुविधायुक्त होटल छन् । ६० भन्दा बढी रेस्टुरेन्ट छन् । यहाँ दैनिक झन्डै तीन हजार पर्यटक बस्न मिल्ने होटल क्षमता छ ।

तस्बिरहरू :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + two =