काँग्रेस प्रवक्ता भन्छन्- समयमै अधिवेशन हुने स्थिति देखिएन

काठमाडौँ । नेपाली काँग्रेसले तोकिएको समयमै महाधिवेशन हुन नसक्ने स्पष्ट पारेको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले तोकिएको समयमा महाधिवेशन गर्ने आधार नरहेको निष्कर्ष निकालेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले महाधिवेशनको सन्दर्भमा सबैभन्दा ठुलो चुनौती सक्रिय सदस्यता टुंग्याउनु रहेको र सक्रिय सदस्यता व्यवस्थापन समितिको संयोजक महामन्त्री गगनकुमार थापा नै रहेको बताए ।

जिल्ला जिल्लामा गरिएको परिपत्र क्रमसंख्या नभएको सक्रिय सदस्यता फारम गएकाले फेरि पठाउनुपर्ने अवस्था रहेको बताए । कतिपय जिल्लामा समयमै फारम भरेर बुझाउन नसकेको र भरेर मात्रै नहुने अवस्था रहेकाले त्यसमा इन्ट्री गर्नुपर्ने र त्यो सहज नरहेको बताए ।

विधिसम्मत तरिकाले काम गर्नुपर्ने भएकाले क्रियाशील सदस्यता टुङ्गिने कुरा जिल्लाका कार्यकर्ताले सकेको प्रयास गर्दा पनि सफल हुन नसकेको बताए । त्यसले पनि तोकिएको समयमा अधिवेशन गर्न सबैको तदारुकता र क्रियाशीलता हुँदाहुँदै पनि सम्भव नरहेको बताए ।

उनले भने ‘सिरियल नम्बर क्रमसंख्या नभएको धेरै ठाउँमा त्यो विषय समस्या छ । सक्रिय सदस्यता फारम गएको हुनाले फेरि पठाउनुपर्नेछ । कतिपय जिल्लाहरूमा समयमा भरेर बुझाउन सकेको अवस्था छैन । भरेर मात्रे पुग्दैन, इन्ट्रि गर्नुपर्छ । सहज त्यो छैन । जिल्ला कार्यालय नै तहसनहस छ । यी सबैले गर्दा क्रियाशील सदस्यता टुङ्गिने कुरा जिल्लाजिल्लाका साथीहरूले आफ्नो भरमजबुर प्रयास गर्दागर्दै पनि सबै ठाउँमा एकनास किसिमबाट सम्पन्न हुन सकेको छैन । त्यसकारण तोकिएको मितिमा अधिवेशन गर्ने सन्दर्भमा सबैको तदारुकता र क्रियाशीलता हुँदाहुँदै पनि क्रियाशील सदस्यता नै नटुंगिकन निर्वाचनको प्रक्रिया अघि बढ्दैछ । हाम्रो वडादेखिको निर्वाचन अघि बढ्दैन । त्यो निर्वाचनको वडादेखिको कार्यतालिका प्रभावित हुने देखिएको छ ।’

उनले पार्टीका जिम्मेवार पदाधिकारीहरूले गहन र गम्भीर भएर आफ्ना धारणा राख्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 13 =