गगनको प्रस्ताव- क्रियाशील विवाद टुंग्याउन केन्द्रबाट सर्वाधिकार सम्पन्न प्रतिनिधि पठाऔँ

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले क्रियाशील सदस्यता विवाद समाधान गर्न सर्वाधिकार सम्पन्न केन्द्रीय प्रतिनिधिलाई केही दिनका लागि फिल्डमा पठाउने प्रस्ताव गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न कार्यसम्पादन समितिको बैठकमा आफूले यस्तो प्रस्ताव राखेको महामन्त्री थापाले बताए । उनले पार्टीको १५ औँ महाधिवेशनेको कार्यतालिका बिथोल्न केही जिल्लामा बद्नियतका साथ क्रियाशीलको काम रोकिएको भन्दै त्यस्ता स्थानमा केन्द्रबाट प्रतिनिधि पठाउनुपर्ने बताए ।
उनले समस्या समाधान नभएका क्षेत्रमा पुरानै क्रियाशीलताको आधारमा सङ्गठनात्मक कार्य अगाडि बढाउनुपर्ने समेत बताए । उनले विवाद सिर्जना गरेर महाधिवेशनको कार्यतालिका बिथोल्ने जिल्लाहरूलाई महाधिवेशनमै सहभागी हुन पाउनेसम्मको कारबाही गर्ने प्रस्ताव समेत आफूले राखेको बताए ।
उनले वडा र क्षेत्रको महाधिवेशनको कार्यतालितामा आवश्यक संशोधन गर्न सकिने भएपनि केन्द्रीय महाधिवेशनको कार्यतालिका तलमाथि नहुने स्पष्ट पारे ।
उनले भने ‘क्रियाशीलका सन्दर्भमा धेरै ठाउँहरूमा विवादहरू छन् । केही ठाउँहरूमा बदनियतको साथ क्रियाशीलको काम अगाडि बढ्न दिइएको छैन । यो कुरालाई लिएर आज मैले एउटा प्रस्ताव गरेको छु । क्रियाशील सदस्यको विषयमा स्वाभाविक रूपले विवाद भएको र बदनियत राखिएको ठाउँहरूमा नेपाली काँग्रेसको यो बैठकले तत्कालै सर्वाधिकार सम्पन्न प्रतिनिधि केही दिनका लागि तल फिल्डमै पठाउने प्रस्ताव राखेको छु । तल गएका साथीहरू विधानले दिएको अधिकार प्रयोग गरेर क्रियाशीलको विवाद टुंग्याउनुहुन्छ । त्यसो गर्दाखेरि बहुसंख्यक ठाउँहरूमा हाम्रो क्रियाशीलको विवादहरू टुङ्गिन्छ । त्यसो गर्दा पनि समस्या समाधान नभएको क्षेत्रमा पुरानै क्रियाशीलताको आधारमा कामहरू अगाडि बढ्छ कि त्यो ठाउँले महाधिवेशनमा भाग लिन पाउँदैन । एकदुई जिल्लामा विवाद खडा गरेर महाधिवेशन प्रभावित गर्ने कार्य हुन्छ भने त्यही अनुसारको कारबाही हुनुपर्छ भन्ने मेरो प्रस्ताव हो । यसो गर्दा पनि हामीले अहिले बनाएको कार्यतालिकालाई केही सामान्य संशोधन गर्नुपर्ने हुन्छ । यो संशोधन गरेर पुस १६ गते गर्ने भनिएको वडा अधिवेशन पुस २१ गते गरौँ र २३ गते क्षेत्रीय अधिवेशन गरौँ । त्यसपछि तोकिएकै मितिमा हामीले केन्द्रीय महाधिवेशन गर्ने हो । महाधिवेशनको अन्तिम तिथिमिति चलाउनु हुँदैन, पाइँदैन ।’
उनले पार्टी सभापति शेरबहादुर देउवाले कार्यवाहक दिएको भएपनि आफैँ शक्ति अभ्यास गरिरहेकोप्रति आपत्ति जनाए ।









