निर्देशक बन्छु भन्ने कल्पना पनि गरेको थिइन: अर्जुन घिमिरे (पाँडे)
भ्रष्टाचारलाई मन नराउने सबै जनाले मेरो सिनेमा मन पराउनुहुन्छ भन्ने लाग्छ ।

काठमाडौँ । नेपाली मनोरञ्जन क्षेत्रमा रुचाएका कलाकार अर्जुन घिमिरे (पाँडे)ले निर्देशन गरेको चलचित्र ‘झरी पछिको इन्द्रेणी’ यही शुक्रवार (पुस ४ गते) बाट देशभरका सिनेमा हलहरूमा लाग्दै छ ।
विगत लामो समयदेखि टिभी श्रृंखला ‘भद्रगोल’, ‘सक्किगो नि’ र म्युजिक भिडियोहरू समेत निर्देशन गर्दै आएका कलाकार घिमिरेको यो पहिलो निर्देशित चलचित्र हो । उनले मकालुखबरसंग गरेको कुराकानीमा आफू कहिल्यै निर्देशक बन्छु भनेर कल्पना पनि नगरेको बताए ।
पहिले कलाकार भएर सङ्घर्ष गर्दै अहिले निर्देशक बन्न सफल भएको उनको भनाई छ । उनले विगत १२–१५ वर्ष देखि टेलिभिजनमा काम गरेका अनुभव र सिपहरू प्रयोग गरेर चलचित्र ‘झरी पछिको इन्द्रेणी’ बनाउन सफल भएको बताए ।
यसबीच चलचित्र ‘झरी पछिको इन्द्रेणी’ कसरी बन्न पुग्यो, टिभी श्रृंखला र चलचित्र निर्देशनमा निर्देशक घिमिरेका अनुभवहरू कस्ता रहे, अनि आगामी दिनमा उनी कस्ता प्रोजेक्टहरूमा काम गर्न चाहन्छन् ? भन्ने बारे मकालुखबरले उनीसँग प्रश्न गरेको छ ।
पढ्नुहोस्, मकालुखबरकर्मी तेन्जिङ डोल्मा तामाङले निर्देशक अर्जुन घिमिरेसँग गरेको कुराकानीको सम्पादित अंश:
यहाँले पहिलोपटक निर्देशन गर्नुभएको चलचित्र ‘झरी पछिको इन्द्रेणी’ को रिलिज डेट नजिक आइसक्यो, कस्तो अनुभूति भइरहेको छ ?
एक्साइटेड छु । एकदमै खुसी लागिरहेको छ । समाजमा चाहिने खालको कथामा चलचित्र निर्माण भएको छ । भ्रष्टाचार विरुद्धको कथामा । समाजमा भ्रष्टाचार धेरै भयो है, त्यस्तो हुनुहुँदैन भन्ने सन्देश यस चलचित्रले दिएको छ । हाम्रो समाजमा भ्रष्टाचारको सानो एउटा केसले गर्दा परिवारको स्थिति कहाँसम्म पुग्छ भन्ने देखाएको छ ।
‘झरी पछिको इन्द्रेणी’ चलचित्रको कथा कसरी लेख्नुभयो, आफ्नै अनुभवबाट कि कसैबाट इन्स्पायर भएर ?
हाम्रो समाजमा प्रतिष्ठित रूपमा देखिनु भएका जो व्यक्तिहरू हुनुहुन्छ । कोही सुशासनमा रमाउनु भएको छ । कोही हाम्रो समाजलाई सभ्य र भव्य बनाउँछु भनेर लागि रहनु भएको छ । ती नै व्यक्तिहरूबाट इन्स्पिरेशन कथा हो यो । जो समाजमा भ्रष्टाचारको शब्द पनि सुन्न नचाहने सफल दर्जाका व्यक्तिहरू हुनुहुन्छ उहाँहरूबाट इन्स्पायर हो ।
दर्शकले हलमा गएर हेर्दा पनि आफ्नै घरको कथा जस्तो लाग्नेछ । आफू नै समाहित भएजस्तो लाग्नेछ । यो एकदमै नयाँ त होइन, तर हामीले भोगी राखेका, समाजमा घटिरहेका घटनालाई नै समेटिएर मिठो तरिकाले प्रस्तुत गरिएको कथा हो यो ।
यसअघि यहाँले टिभी श्रृंखला, म्युजिक भिडिओ मात्रै निर्देशन गर्नुभएको थियो, फिल्म निर्देशन गर्दा के फरक पाउनु भयो ?
टिभी सिरियल सुटिङ गर्दा हरेक हप्ता नै रिभ्यू आउँथ्यो । दर्शकहरूले हेर्ने बित्तिकै हाम्रो सिरियलको राम्रो नराम्रो प्रतिक्रियाहरू दिनुहुन्थ्यो । यदि नराम्रो भए अर्को हप्ता राम्रो गर्ने र राम्रो भए अझ राम्रो बनाउने प्रेरणाहरू मिल्थ्यो ।
फिल्म चाहिँ ठुलो टिम, धेरै जना प्राविधिक र धेरै कलाकारहरू मिलेर निर्माण गरेको कुरा हो । जसमा लगभग वर्षभरिको मिहिनेत लाग्छ । हलमा लागि सकेपछि मात्रै प्रतिक्रिया पाउने भएकाले सिरियल र फिल्ममा यो फरक छ ।
टिभी सिरियलमा नराम्रो प्रतिक्रियाहरू आयो भने अर्को एपिसोडमा सुधार गर्छु भन्न पाइन्छ तर फिल्ममा लगानी धेरै हुने भएकाले अर्को पटक सुधार गरौला भन्ने मौका कम हुन्छ । त्यसैले पनि अलि रिस्क हुन्छ यसमा ।
दर्शकको माया पाउनेमा कतिको विश्वस्त हुनुहुन्छ ?
दर्शकहरूले नै मलाई कलाकार बनाइ दिनुभएको हो । दर्शकहरूले माया गरेर पाँडे बनेर सक्किगोनीबाट भद्रगोल सिरियलसम्मको यात्रामा सफल बनाइ दिनुभएको हो । म उहाँहरूले नै सफल बनाइदिनु भएको व्यक्ति हुँ । त्यसैले उहाँहरूले त पक्कै पनि मेरो सिनेमा हेर्दिनुहुन्छ, माया गर्दिनुहुन्छ र प्रेरणा, हौसला दिनुहुन्छ भन्ने आशा राखेको छु ।
यहाँलाई हास्य कलाकार अर्जुन घिमिरे या निर्देशक अर्जुन घिमिरे कुन भनेर सम्बोधन गरेको मन पर्छ ?
मलाई त कलाकार भनेको चाहिँ मन पर्छ । निर्देशक चाहिँ त्यसपछि आउने पाटो हो । निर्देशक बनेर सुरुमै आएको होइन । पहिले कलाकार भएर सङ्घर्ष गरेर बिस्तारै ज्ञान सिप सिक्दै अहिले निर्देशन गर्न सफल भएको हुँ । त्यसैले हास्य कलाकार भन्दा पनि कलाकार भनेको चाहिँ मन पर्छ ।
पहिल्यैदेखि फिल्म निर्देशन गर्छु भन्ने थियो कि काम गर्दै गर्दा यहाँसम्म आइपुग्नु भयो ?
म निर्देशक बन्छु भनेर कल्पना पनि गरेको थिइन् । मेरो सोच पनि थिएन । म एउटा कलाकार बन्छु, समाजका मानिसहरूले ‘मलाई यो कलाकार मन पर्छ’ भनेको चाहिँ सुन्न मन थियो ।
आगामी दिनमा कस्ता प्रोजेक्टहरूमा काम गर्न रुचाउनुहुन्छ ?
सिरियल भनेको मेरो लागि एकदम ठुलो पर्दा हो, किनभने सिरियल गर्दा हरेक हप्ता, हरेक कोठा–कोठामा छिरेर हरेक बा–आमाको अनुहारमा हाँसो ल्याउन सकिन्छ । विदेशमा रहेका साना बालबालिकाहरूले पनि मेरो सिरियल हेर्दै ठेट नेपाली भाषाहरू बोल्न सिकेको प्रतिक्रियाहरू आउँथ्यो । यहाँ पनि बालबच्चाहरूले मेरो सिरियलका हेर्दै खाना खान्थे ।
सामाजिक सचेतनाका भिडियोहरू बनाउँदा पनि अलिकति केही परिवर्तन गर्न सकिन्थ्यो कि भन्ने लाग्थ्यो । साँच्चै टेलिभिजनको सानो पर्दाबाट आउँदाखेरि मलाई एकदम मजा लाग्थ्यो ।
म सिरियल कर्मबाट आएको मान्छे हो । भोलिका दिनमा म सिरियलमा पनि काम गर्नुपर्ने हुन्छ । मैले जे पनि काम गर्नुपर्ने हुन्छ । मैले सिनेमा बनाए अब सिरियल बनाउँदिन भन्ने हुदैँन् । म्युजिक भिडियो, विज्ञापन पनि बनाउन सक्छु । मेरो पेसा, धर्म, कर्म यही भएकाले मेरो अनुभवहरू जुनमा पनि लगाउन सक्छु ।
अन्त्यमा दर्शकहरूलाई के भन्न चाहनुहुन्छ त ?
भ्रष्टाचारलाई मन नराउने सबै जनाले मेरो सिनेमा मन पराउनुहुन्छ भन्ने लागेको छ । मैले १२–१५ वर्ष टेलिभिजनमा काम गरेका अनुभवहरू, मैले जानेका र सिकेका सिपहरू सबै प्रयोग गरेर यो चलचित्र ‘झरी पछिको इन्द्रेणी’ बनाएको छु । पुस ४ गते शुक्रवारदेखि लाग्दै छ । एकचोटि गएर हेरेर प्रतिक्रिया दिनुहोला । राम्रो, नराम्रो जे जस्तो भए पनि तपाईँहरूको प्रतिक्रिया हाम्रो लागि अमूल्य हुन्छ । तपाईँहरूले राम्रो प्रतिक्रिया दिनुभयो भने अझै राम्रो काम गर्ने हो । नराम्रो प्रतिक्रिया दिनुभयो भने अझ सुधार्दै गएर राम्रो बनाउने कोसिस गर्ने छौँ । त्यसैले जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोला । जसबाट मैले मेरो आगामी बाटोहरू अझै वृहत् बनाउन सक्छु । त्यसैले मलाई सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला । अत्यन्तै राम्रो मिठ्ठो सिनेमा बनेको छ । एक चोटि हलमा गएर हेरिदिनु होला ।
हेर्नुहोस् चलचित्र ‘झरी पछिको इन्द्रेणी’ को ट्रेलर:








