सशस्त्र प्रहरी बलको सक्रियतासँगै अवैध कारोबारमा कमी

रौतहट । सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउटपोष्ट (विओपी) सरमुजवा रौतहटको सक्रियतासँगै सीमा नजिकको भारतीय बजार घोडासाहनतर्फबाट हुने गरेको अवैध कारोबार उल्लेख्य मात्रामा घटेको छ ।
सशस्त्र प्रहरीको सक्रियतासँगै विशेष गरी खाद्यान्न तथा तरकारी, औषधि, लत्ताकपडा, रक्सी, सुर्तीजन्य पदार्थ, खेलौना, मोटरसाइकल, मोबाइलसहित विभिन्न उपकरणका पार्टस्लगायतका सामानमा हुने अवैध काराबारमा कमी आएको र यस किसिमको गैरकानुनी धन्धामा सक्रिया पक्ष निरुत्साहित देखिएको बौधिमाई नगरपालिका–९ सरमुजवाका समाजसेवी वृजभूषण मिश्र बताउछन् ।
उनले भने, ‘पछिल्लो समय सरमुजवास्थित सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलले अवैध धन्दा न्यूनीकरण तथा नियन्त्रण गर्ने अभियानका साथ विशेष सक्रियता अपनाएपछि सँगैको भारतीय बजार घोडासाहन हुँदै सामान ल्याउने समूह छटपटिएर अन्यत्र पलायन भएको अवस्था छ । तस्करीमा रमाउँदै आएकाहरू अहिले तितरबितर भएका छन् ।’
अवैध सामान जफत गरी त्यसमा संलग्न दोषीलाई हदैसम्मको कारवाही गर्ने क्रम बढेपछि जिल्ला सदरमुकाम गौरबाट टाढा पर्ने यस सरमुजवा नाकाबाट अवैध सामान ओसारपसार तथा कारोबार हुनेक्रम घटेको स्थानीयको भनाइ छ ।
सशस्त्र प्रहरी वल सरमुजवाका प्रहरी निरीक्षक परशुराम लामिछानेले सशस्त्र प्रहरीको सक्रियतासँगै उल्लेख्य परिणाममा अवैध सामान बरामद गर्न प्रहरी सफल भएको र सीमापारिबाट भन्सार छली भित्रिने वस्तु तथा सामान नगण्य अवस्थामा रहेको जानकारी दिए ।
सीमा सशस्त्र प्रहरी बल, सरमुजवाले साढे तीन महिनामा भन्सार छली गरेर ल्याइएको १३ लाख ८२ हजार २६९ मूल्य पर्ने वस्तु तथा सामान बरामद गरेको जनाएको छ ।
यसैगरी, सशस्त्र प्रहरी बल नेपाल, बोर्डरआउटपोष्ट (विओपी) रामपुरखापका सशस्त्र प्रहरी निरीक्षक मन्दिरा सुवालले गत भदौदेखि मङ्सिर २२ गतेसम्म ११ लाख ९७ हजार २८० मूल्य पर्ने भन्सार छलीका सामान बरामद गरेको जानकारी दिए ।








