पार्टीमा नीति होइन, नेता प्रदान भएकाले नयाँ नेतृत्व ल्याउन चाहेका हौँ : युवराज ज्ञवाली

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीको ११ औँ महाधिवेशनमा आफूहरुले सामुहिक नेतृत्व प्रणालीलाई स्थापित गराउन नेतृत्व परिवर्तन गर्न चाहेको बताएका छन् ।
उपाध्यक्ष ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीले एकलकाटे प्रवृत्ति देखाएको र नेतृत्व प्रदान भन्ने गलत मान्यतालाई अघि बढाएकाले आफूहरुले त्यसको विकल्पमा ईश्वर पोखरेललाई नयाँ नेतृत्वको रुपमा अघि बढाउन बाध्य हुने परेको जिकिर समेत गरे ।
सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सामुहिक नेतृत्व विना लोकतन्त्र सफल हुन नसक्ने भएकाले पनि आफूहरुले सामूहिक नेतृत्वलाई अघि बढाउने मान्यतालाई स्थापित गराउनका लागि ११ औ महाधिवेशनमा पोखरेललाई अध्यक्षको रुपमा निर्वाचन गराउन चाहेको समेत बताए ।
उपाध्यक्ष ज्ञवालीले ओलीले आलोचनालाई सुन्न नचाहने गैर माक्र्सवाद चिन्तन देखाएकाले पनि त्यस्ता खालको गलत कुराको विपक्षमा उभिनुपर्ने अवस्था आएको बताए । ‘सामुहिक नेतृत्व नभएको लोकतन्त्र सुदृढ हुन सक्दैन, बलियो हुन सक्दैन । टिकाउ पनि हुन सक्दैन । राम्रोसँग चल्न सक्दैन । कलेक्टिक लिडरसिप विनाको नेतृत्व, डेमोक्रेसी देशमा सफल हुन सक्दैन । संसारको उदाहरण हेर्ने होभने हामी त्यो पाउँछौँ । त्यसो भएको हुनाले कलेक्टिभ लिडरसिप आजको अनिवार्य आवश्यकता हो । त्यसलाई हामीले लगातार मान्दै आएको हो । तर हाम्रो पार्टीमा सामूहिक नेतृत्वको प्रणाली दस्तावेजमा त भनेका छौँ । तर व्यवहारमा लागू भएन । त्यसो भएर हामीले सामूहिक नेतृत्व प्रणालीलाई स्थापित गर्नका लागि, अगाडि बढाउनका लागि अब हामी नयाँ नेतृत्वमा जान चाहन्छौँ’ उनले भने ।
उपाध्यक्ष ज्ञवालीले आफूहरुले ईश्वर पोखरेलको नेतृत्वमा सामुहिक ढंगले पार्टीलाई अघि बढाउने र लोकतन्त्रको सुदृढिकरणमा नेतृत्वदायी भुमिका खेल्न चाहेको पनि बताए ।








