प्राइम कमर्सियल बैंकका पूर्व सीईओ नारायण दास मानन्धरको निधन

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा नेपालको बैंकिङ क्षेत्रका वरिष्ठ व्यक्तित्व नारायण दास मानन्धरको निधन भएको छ ।

उनको ८२ वर्षको उमेरमा आइतबार निधन भएको बैंकले जानकारी दिएको छ । लामो समयदेखि बैंक तथा वित्तीय क्षेत्रको नेतृत्वकारी भूमिकामा सक्रिय मानन्धरको निधनले वित्तीय क्षेत्रमा अपूरणीय क्षति भएको बैंकले जनाएको छ ।

सन् १९६९ मा भूमि सुधार तथा बचत निगममा शाखा प्रमुखका रूपमा सेवामा प्रवेश गरेका मानन्धरले जीवनकालमा महत्त्वपूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूमा जिम्मेवारी सम्हालेका थिए ।

उनले राष्ट्रिय धानचामल कारखानाको प्रमुख कार्यकारी, कृषि विकास बैंकमा विभागीय प्रमुख तथा नायब महाप्रबन्धक, धानचामल निर्यात कम्पनीको महाप्रबन्धक, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनका परामर्शदाता, राष्ट्रिय वाणिज्य बैंकका कार्यकारी सञ्चालक लगायत महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेका थिए ।

त्यसपछि उनले लुम्बिनी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत, विश्व बैंकको जलविद्युत विकास कोष, नेपाल बंगलादेश बैंक हुँदै प्राइम कमर्सियल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतका रूपमा सेवा पु¥याएर सेवा निवृत्त भएका थिए ।

मानन्धरको दीर्घ अनुभव, नेतृत्व क्षमता र योगदानले नेपालको बैंकिङ इतिहासमा विशेष स्थान बनाएको बैंकले जनाएको छ । ‘उहाँको देहावसानबाट नेपालको आर्थिक जगतले एक नक्षत्र गुमाएको छ,’ बैंकद्वारा जारी सन्देशमा उल्लेख छ ।

बैंकले मानन्धरप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिर शान्तिको कामना गरेको छ । साथै, शोकग्रस्त परिवारजन तथा प्राइम कमर्सियल बैंक परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भनी शुभेच्छा व्यक्त गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 4 =