प्रतिनिधि सभा पुनर्स्थापनाका लागि सर्वोच्च पुग्यो कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा पुनस्र्थापना माग गर्दै सर्वोच्च अदालतमा रिट पेस गरेको छ ।

प्रमुख सचेतक श्यामकुमार घिमिरे र सचेतक सुशीला थिङसहित विघटित प्रतिनिधि सभाका आठ जना सांसदले आइतबार सर्वोच्चमा रिट दर्ताका लागि पेश गरेका हुन् ।

कांग्रेस प्रमुख सचेतक घिमिरेका अनुसार रिट पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीमार्फत् वारेसमार्फत् पठाइएको हो । ‘हामीले प्रतिनिधि सभा पुनस्र्थापनालगायत माग गर्दै आज रिट दिएका हौं,’ घिमिरेले भने ।

सर्वोच्च अदालतका सह–रजिस्ट्रार तथा प्रवक्ता अर्जुनप्रसाद कोइरालाले रिट पेस भएको पुष्टि गरेका छन् । उनका अनुसार रिट हाल अध्ययनमा रहेको र औपचारिक दर्ता प्रक्रिया बाँकी छ ।

यसअघि एमालेले पनि प्रतिनिधि सभा पुनस्र्थापनाको मागसहित सर्वोच्च अदालत धाएको थियो । गत शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच महाराजगञ्जमा भेटवार्ता समेत भएको थियो ।

जेनजी आन्दोलनपछि भदौ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो ।

कांग्रेसले पूर्वप्रधान न्यायाधीशको नेतृत्वमा सरकार बन्न नमिल्ने दाबी गर्दै सो निर्णयविरुद्ध रिट पेस गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 6 =