पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पाँच पूर्वमन्त्रीलाई मुद्दा चल्ने

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा गरिएको भनिएको भ्रष्टाचारसम्बन्धी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गर्ने प्रक्रिया सुरु गरेको छ ।
अख्तियार स्रोतका अनुसार विशेष अदालतमा मुद्दा दर्ता गर्ने अन्तिम तयारी भइरहेको छ । आयोगले यसअघि नै तत्कालीन पाँच मन्त्रीसहितलाई विपक्षी बनाएर मुद्दा दायर गर्ने निर्णय गरेको थियो ।
अख्तियारको कानुनी टोली आजै उक्त मुद्दा लिएर विशेष अदालत पुगेको छ । विमानस्थल निर्माणमा राज्यलाई ८ अर्ब ३६ करोड रुपैयाँ बिगो पुगेको आरोपसहित मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
विपक्षी बनाइएका मन्त्रीहरूमा तत्कालीन मन्त्री भीम आचार्य, रामकुमार श्रेष्ठ, दीपक अमात्य, रामशरण महत र पोष्टबहादुर बोगटी रहेका छन् ।
यसबाहेक, पोष्टबहादुर बोगटीको निधन भइसकेकाले उनको स्थानमा उनकी पत्नी राममाया बोगटीलाई प्रतिवादी बनाइएको छ ।








