नागरिकको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता: राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन् ।

ललितपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नागरिकको मुहारमा खुसी ल्याउन सेवा प्रवाहमा चुस्तता र सुशासन महत्त्वपूर्ण पक्ष रहेको जिकिर गरे । नयाँ पुस्ताको चाहना बुझेर राजनीतिक नेतृत्वले आफूलाई सोहीअनुसार रूपान्तरण गर्दै लैजान जरुरी रहेको बताए । संविधानले स्थानीय तहलाई विकास निर्माण र सेवा प्रवाहको क्षेत्रमा महत्त्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान उल्लेख गरे ।

राष्ट्रपति पौडेलले स्थानीय तह नागरिकको नजिकको सरकार भएकाले स्थानीय तहले दिने सेवा र प्रदान गर्ने सुशासनले नै व्यवस्थाप्रति नागरिकको भरोसा अभिवृद्धि गर्ने बताए । नागरिकका चाहना पूरा गर्न विशेषतः स्थानीय सरकारले ध्यान दिनुपर्ने बताए । लोकतन्त्र केवल शासन व्यवस्था मात्र होइन यो लोकको आवाज सुन्ने र उनीहरूको चाहनाअनुरूप काम गर्ने संस्कार र शैली भएको पनि बताए ।

‘पूर्वाधार निर्माण मात्रै होइन नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता हो । यसका लागि सेवा प्रवाहमा चुस्तता र सुशासन महत्त्वपूर्ण पक्ष हो भन्ने म ठान्दछु । नयाँ पुस्ताको यो चाहना बुझेर राजनीतिक नेतृत्वले त्यसैअनुसार आफूलाई रुपान्तण गर्दै लैजानु आजको हाम्रो साझा दायित्व हो भन्ने म ठान्दछु । संविधानले स्थानीय तहलाई विकास निर्माण र सेवा प्रवाहको क्षेत्रमा महत्त्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको छ । नागरिकको नजिकको सरकार भएकाले स्थानीय तहले दिने सेवा र प्रदान गर्ने सुशासनले नै व्यवस्थाप्रति नागरिकको भरोसा अभिवृद्धि गर्दछ, त्यसैले नागरिकका चाहना पूरा गर्न विशेषतः स्थानीय सरकारले ध्यान दिनुपर्दछ । लोकतन्त्र केवल शासन व्यवस्था मात्र होइन यो लोकको आवाज सुन्ने र उनीहरूको चाहनाअनुरूप काम गर्ने संस्कार र शैली हो र यो लोकहितमा समर्पित हुने असल आचरण र चरित्र पनि हो, यो मर्म र भावना बुझेर अघि बढ्ने नेतृत्व र जनप्रतिनिधिको दृढ इच्छाले मात्र भौतिक विकाससँगै नागरिकको मुहारमा खुसी ल्याउन र व्यवस्थाप्रति भरोसा जागृत गराउन सक्छ ।’

राष्ट्रपति पौडेलले जनताका गुनासा, असन्तुष्टि, माग सुन्ने र तीनलाई बुझ्न घरदैलोमा पुग्ने लोकतान्त्रिक आचरण र शैली पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताए ।

उनले संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै विकासको युगिन अभिभारा पूरा गर्ने युवा पुस्ताको चाहनालाई पूरा गर्न तथा देशको वर्तमान परिस्थितिलाई निकास दिन आगामी फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल बनाउन पनि आह्वान गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =