सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई १० लाख पुर्याओस् : सुनिल शर्मा

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं काठमाडौं मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्माले स्वास्थ्य बीमा कार्यक्रमलाई १० लाख पुर्याउनुपर्ने बताएका छन् ।
शुक्रवार भक्तपुरको कौशलटारस्थित पुलमुनि बस्दै आएका इलामका एक व्यक्तिलाई उद्धार गरी अस्पतालमा उपचार गर्न लैजाने क्रममा उनले यस्तो बताएका हुन् ।
उनले स्वास्थ्य बीमा कार्यक्रमलाई पाँचदेखि १० लाखसम्म पुर्याउनुपर्नेअहिलेको आवश्यकता भएको उल्लेख गरे ।
आफूले यसबारेमा सार्वजनिक महत्वको प्रश्ताव नै संसदमा दर्ता गरिसकेको उनको भनाइ छ । वर्तमान सरकारले पनि यसबारेमा उचित कदम चाल्नुपर्ने उनको आग्रह छ ।
उपचार नपाएर तड्पिएका नागरिकहरु नेपालमा हजारौँको संख्यामा रहेको भन्दै यो समस्या सरकारीस्तरबाटै समाधान हुनुपर्ने जिकिर गरे । राज्यको नीतिबाटै उनीहरुको स्वास्थ्योपचारको ग्यारेन्टी हुनुपर्ने बताए ।
एक हजार शैय्याको निःशुल्क उपचार गर्ने अस्पताल निर्माण गर्ने आफ्नो लक्ष्य रहेको बताए ।
शुक्रवार शर्माले भक्तपुरको कौशलटारस्थित हनुमन्ते खोलाको पुलमुनि बस्दै आएका इलामका एक नागरिकको पेट सुन्निएको र उपचार गर्न नसकेको भन्दै उनलाई केएमसी अस्पताल लगेर उपचार शुरु गरिएको हो ।
उक्त व्यक्तिको पेट सुन्निएको एक हप्ता भइसकेकाले उपचार जरुरी रहेको उनको भनाइ छ ।








