ओली र देउवाबीच महाराजगञ्जमा भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्जस्थित देउवा निवास पुगेका छन् । अध्यक्ष ओलीको सचिवालयका अनुसार दुवै नेताबीच साढे ३ बजे भेटवार्ता गर्ने गरी कार्यक्रम तय गरिएको थियो ।
स्रोतका अनुसार अहिले देउवा निवासमै दुवै शीर्ष नेताबीच भेटवार्ता जारी छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि उनीहरूबीच औपचारिक भेटघाट भएको थिएन । त्यसअघि एमाले र कांग्रेसबीच सत्ता साझेदारी कायम थियो ।
यसैबीच, आगामी माघ ११ गते राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन तोकिएको बेला शीर्ष नेताहरूको भेटलाई राजनीतिक रूपमा अर्थपूर्ण प्रयासका रूपमा हेरिएको छ । समसामयिक राजनीतिक घटनाक्रम, आगामी निर्वाचन रणनीति तथा सहयोगसम्बन्धी विषयमा छलफल हुने बताइएको छ ।
भदौ २४ गते बूढानीलकण्ठस्थित देउवा निवासमा उनमाथि आक्रमण भएको थियो । उपचारका लागि सिंगापुर गएका देउवा स्वदेश फर्किसकेका छन् ।








