चालु आ.व.मा सडक दुर्घटनाबाट ६९ जनाको मृत्यु, चालकको लापरबाही मुख्य कारण

काठमाडौँ । चालु आ.व.मा हालसम्म २ हजार ८८ वटा सडक दुर्घटनाबाट ६९ जनाको मृत्यु भएको छ ।
शुक्रवार अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा आयोजित सडक दुर्घटना न्यूनीकरण सचेतना स्वयंसेवक कार्यक्रममा यसबारे जानकारी गराइएको हो ।
आर्थिक वर्ष ०७९–०८० मा १० हजार ६ सय ७५, आ.व.०८०–०८१ मा ८ हजार ८ सय ८१ र आ.व. ०८१–०८२ मा ७ हजार १ सय ६९ दुर्घटना भएको प्रहरीले जनाएको छ ।
कार्यक्रममा बोल्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेशराज सुवेदीले सडक दुर्घटनाको संख्या बर्सेनि घट्दै गएपनि मृत्युदर बढिरहेको बताए ।
सडक दुर्घटनाका कारण मृत्युदर ७।३४ प्रतिशत बढेको जानकारी दिए । सबैभन्दा धेरै दुर्घटना चालकको लापरबाहीका कारण हुने गरेको उनले बताए ।
तीव्र गति, लापरबाही, मादक पदार्थ सेवन गर्ने, नियमको पालना नगर्ने, क्षमता भन्दा बढी यात्रुहरू राख्ने, आफ्नो गाडीको नियमित रूपमा मर्मतसम्भार नगर्ने कारणले पनि धेरै दुर्घटना भएका छन् । महिनामा माघ र फागुन र बारमा शुक्रवार र बुधवार बढी दुर्घटना हुने गरेको प्रहरीको तथ्याङ्क छ । बढी दुर्घटना हुनेमा दुई पाङ्ग्रे सवारीसाधन रहेको बताए ।
उनले भने ‘आर्थिक वर्ष ०७९–०८० मा १० हजार ६ सय ७५ दुर्घटना भएको छ । आ.व.०८०–०८१ मा ८ हजार ८ सय ८१ र आ.व. ०८१–०८२ मा ७ हजार १ सय ६९ दुर्घटना भएको छ तर दुर्घटनाको संख्या घट्दो क्रममा छ । मृत्युदर ७.३४ प्रतिशत बढ्नु भनेको दुःखको कुरा हो । यसमा हामी सजग हुनुपर्छ । संवेदनशील हुनुपर्छ । यस आर्थिक वर्षको दुर्घटनाको विवरण हेर्दा पनि २ हजार ८८ वटा दुर्घटना भएको छ । जसमा ६९ जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै दुर्घटना चालकको लापरबाहीका कारण हुने गरेको छ । तीव्र गति, लापरबाही, मादक पदार्थ सेवन गर्ने, नियमको पालना नगर्ने, क्षमता भन्दा बढी यात्रुहरू राख्ने, आफ्नो गाडीको नियमित रूपमा मर्मतसम्भार नगर्ने, त्यस्तै जथाभाबी तरिकाले प्रयोग गर्ने देखिएको छ । यान्त्रिक गडबडीका कारण पनि दुर्घटना भएको छ । पुराना सवारी साधन व्यवस्थापन गर्न नसक्दा पनि दुर्घटना भएको छ । शुक्रवार र बुधवार बढी दुर्घटना भएको छ । माघ र फागुनमा बढी दुर्घटना भएको छ । दुर्घटना दुई पाङ्ग्रे सवारीसाधन बढी छन् ।’
उनले रात्रिकालीन समयमा दुर्घटना बढेकाले काठमाडौँ उपत्यकासमित विभिन्न स्थानमा तीव्र गति न्यूनीकरणमा लागेको बताए । जेन–जी आन्दोलनका कारण प्रहरी कार्यालयहरू जलेर नष्ट हुँदा समस्या व्यहोरिरहनुपरेको बताए ।








