किरात समुदायले उधौली पर्व हर्सोल्लास सहित मनाउदै (तस्बिरहरू)

काठमाडौं । मंसिर पूर्णिमाका दिन आज (बिहिवार) पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदैछन् ।
उधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली साकेला र लिम्बूहरूले चासोक तङनाम मनाउँछन् ।
किरात समुदायले अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई उधौली पर्वका रूपमा मनाउँछन् । बाली लगाउने बेलामा भने किरात समुदायले उभौली पर्व मनाउने प्रचलन छ ।
भूमिपूजा गर्दै आज बिहानैदेखि किरात महिला तथा पुरुष जातीय भेशभूषामा सजिएर विभिन्न सिली (नाच)सहित पर्व मनाउछन्। पूजापछि आ–आफ्नो परम्पराअनुसार साकेला सिली, च्याब्रुङ नाचेर मनोरञ्जन गर्ने चलन छ।
जाडोमा बेशी झर्ने र गर्मीमा माथि लेकमा जाने प्रक्रियालाई उधौली र उभौली पर्वको रूपमा लिने गरिन्छ।
उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे)लाई धन्यवाद दिने गरिन्छ।
(तस्बिरमा गोकर्णेश्वरमा अवस्थित यज्ञडोल सामुदायिक बनमा उधौली मनादै किरात समुदाय)









