सांसदहरूले मागे बुल्गेरियाबाट हतियारसहितको कार्गो विमान नेपाल आएको बारे सरकारको जवाफ

काठमाडौँ । राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले बुल्गेरियाबाट हतियारसहितको कार्गो विमान नेपाल आएको विषयमा सरकारको जवाफ माग गरेका छन् ।

बुधवार विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले बुल्गेरियाबाट हतियारसहितको कार्गो विमान नेपाल आएको विषयमा सरकारको जवाफ माग गरेका हुन् ।

उनले जेन–जी आन्दोलनमा भदौ २४ गते घुसपैठ गरेर विध्वंस गर्ने टिओवी संस्थासहितका नक्कली नागरिकता रहेकाहरूलाई कहिले डिपोर्ट गरिन्छ ? भन्दै प्रश्न समेत गरे । उनले नक्कली नागरिकता भएकाहरूलाई तत्काल डिपोर्ट गर्न पनि माग गरे । उनले भारतबाट आउने पेट्रोल पाइपलाइनबाट आउने गरेकोमा कमिसनका लागि अहिले ढुवानी गरेर ल्याउने प्रवृत्ति बढेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

उनले भने ‘जेन–जी आन्दोलनमा भदौ २४ गते घुसपैठ भएर जुन विध्वंस भयो, यो टिओबी ग्रुपसहितका नक्कली नागरिकता नभएकालाई कहिले डिपोर्ट गरिन्छ ? डिपोर्ट तुरुन्त गरियोस् । बजारमा व्यापक चर्चा भएको हतियारसहितको कार्गो नेपाल भित्रियो भन्ने छ । यो विषय के हो ? बुल्गेरियाबाट सैन्य कार्गो आएको भन्ने छ । भारतबाट आउने पेट्रोल लाइनबाट आइरहेको छ तर यो कमिसनको खेलमा ढुवानी गरेर ल्याउने प्रवृत्ति बढेको छ । यसको कारबाही कहिले हुन्छ ? कृषि मल खरिदको लागि २८ अर्ब ८२ करोड यस वर्षमा बजेट निकासा गरिएको छ । तर नेपाल सरकारले ५० करोडको मल कारखाना स्थापना गर्न सक्दैन । नेपालभित्र ५० करोडको लगानी गरेर मल कारखाना खोल्न किन सक्दैनौँ ।’

राष्ट्रिय सभा सदस्य भुवनबहादुर सुनारले सरकार परिवर्तन भएर मात्रै नपुग्ने भन्दै कर्मचारीतन्त्रमा परिवर्तन आउन जरुरी रहेको बताए । उनले प्रधानमन्त्री र मन्त्रीहरू जनताप्रति गम्भीर रहेको विश्वास गरेको भएपनि सरकारी सेवामा सुस्तता आइरहेको बताए ।

उनले भने ‘सरकार मात्रै परिवर्तन भएर भएन । कर्मचारीमा पनि परिवर्तन आउनुपर्छ । सात दिनभित्र हुन्छ भने हुन्छ, हुँदैन भने हुँदैन भनेर आउनुपर्ने थियो । हाम्रा प्रधानमन्त्री, हाम्रा मन्त्रीहरू जनताप्रति असाध्यै गम्भीर हुनुहुन्छ भन्ने लागेको छ । तर जनताका कामहरू किन यसरी रोकिरहेका छन् ? किन यस्तो भइरहेको छ ? निराशा र आक्रोश हामीमा पनि पैदा भइरहेको छ ।’

उनले राष्ट्र विकासका लागि सबै एक भएर काम गर्न जरुरी रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − two =