निर्वाचन सम्पन्न गराउन कम्मर कसेर लाग्नूस्ः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्पन्न गराउन कम्मर कसेर लाग्न निर्देशन दिएका छन् ।
सोमवार आयोगमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।
उनले समानुपातिक निर्वाचन प्रणाली केही जटिल भएपनि विगतमा काम गरेका व्यक्तिहरूबाट सुझाव लिएर काम गर्नसके कठिन नहुने बताए । निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा कुनैपनि झन्झट नमानीकन सूत्रअनुसार अघि बढ्न आग्रह गरे । उनले संवैधानिक व्यवस्था बमोजिम नेपालमा दुई वटा निर्वाचन प्रणाली रहेको बताउँदै आयोगमा समानुपातिक निर्वाचन प्रणालीका लागि सोमवारबाट निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको र अब समानुपातिक निर्वाचन प्रक्रियाका कामहरू सुरु हुने बताए ।
उनले भने ‘संवैधानिक व्यवस्था बमोजिम हाम्रो निर्वाचन प्रणाली दुई वटा छ । एउटा प्रत्यक्ष निर्वाचन प्रणाली र अर्को समानुपातिक निर्वाचन प्रणाली । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दलहरूले समानुपातिकमा आफ्नो कोको उम्मेदवार हो, लिस्ट पेस गर्नुहुन्छ । सो बमोजिम विभिन्न कार्यक्रमहरू रहेका छन् । ती कार्यक्रमहरूबाट अन्तिममा दलहरूबाट पेस भएका समानुपातिक उम्मेदवारहरूको अन्तिम नामावली कायम हुन्छ । विभिन्न वर्ग, समुदाय, क्षेत्रलाई समेटेर प्रतिनिधि सभामा प्रतिनिधित्व गराउने हाम्रो संवैधानिक व्यवस्थालाई टड्कारो रूपमा अङ्गीकार गरेर निर्वाचन आयोगले निर्वाचन सम्पन्न गर्दछ । यो निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा साथीहरूले काम गर्ने सन्दर्भमा अलि झन्झटिलो पनि मान्नुहोला । तर यो सूत्र र फर्मुलामा हुने निर्वाचन भएकाले सूत्रलाई पहिला नै मनन गरिदिनुभयो र ती व्यक्तिहरूबाट सल्लाह र सुझाव लिएर कार्यक्रम सञ्चालन गर्नुभयो भने कठिन छैन । कम्मर कसेर निर्वाचन सम्पन्न गर्नुस् ।’
सरकारले आगामी फागुन २१ लाई प्रतिनिधि सभा सदस्यको लागि निर्वाचनको मिति तोकेको छ ।








