मेयर बालेन शाहलाई पितृशोक

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पितृशोकमा परेका छन् ।

उनका बुवा रामनारायण शाहको सोमबार मध्यान्ह नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

बिरामी रहेका रामनारायणलाई आइतबार अस्पताल भर्ना गरिएको थियो । अस्पताल पुर्‍याउने बेलादेखि नै उनी होसविहीन र गम्भीर अवस्थामा रहेको सिभिल अस्पताल स्रोतले बतायो ।

‘उहाँलाई हिजो ल्याउँदा नै होस थिएन । संक्रमण शरीरभरि फैलिसकेको थियो । उपचारका क्रममा आज मध्यान्ह उहाँको निधन भयो,’ स्रोतले भन्यो ।

स्रोतका अनुसार रामनारायणलाई पिसाबसम्बन्धी संक्रमण देखिएको थियो, जुन पछि शरीरभरि फैलिएको थियो । साथै मस्तिष्कमा पनि असर देखिएको बताइएको छ ।

सोमबार नै प्रधानमन्त्री सुशीला कार्की सिभिल अस्पताल पुगेकी थिइन् । उनले मेयर बालेन शाहलाई भेटेर रामनारायणको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको अस्पताल स्रोतले जनाएको छ ।

आयुर्वेद चिकित्सकसमेत रहेका दिवंगत रामनारायण शाहका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

*यसअघि समाचारमा फरक व्यक्तिको फोटो पर्न गएकोमा क्षमायाचना सहित सच्याइएको छ ।– सम्पादक

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − five =