रास्वपामा समाहित हुँदै बास्कोटाले भनिन्–‘मलाई केही चाहिन्न, विवेकशील अभियान मर्नुभएन’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग समाहित भएको विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटले आफूलाई कुनै पद नचाहिने भन्दै विवेकशील साझा अभियान मर्न नदिने बताएकी छन् ।
आईतवार काठमाडौंमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले व्यक्तिगत स्वार्थको लागि रास्वपामा समाहित नभएको स्पष्ट पार्दै मुलुक र जनताको हितका लागि एकतामा आएको दाबी गरिन् ।
‘विवेकशील साझा आन्दोलन मर्नुभएन । उज्वल थापाले रोपेको बिउ फुल्नुपर्यो, फक्रिनुपर्यो । मलाई केही चाहिदैन । जब उज्वल थापाले रोपेको बीउ संसद भवनमा गर्जिन थाल्छ तब म हरेकमा समीक्षा र उज्वल नै देख्छु’ उनले भनिन् ।
उज्ज्वल थापाले सुरुवात गरेको वैकिल्पक राजनीतिले अनेक ठक्कर खाएको स्मरण गर्दै दलमा आउने जुनसुकै कठिनाई र चुनौतीको सामना गन आफूहरु तयार रहेको उनको भनाइ छ ।
उनले आफूहरु निःशर्त रास्वपासँग एकीकृत हुन आएको भन्दै निःशर्त नै सबैभन्दा ठूलो शर्त हुने बताइन् ।
उनले भनिन्– ‘साथिहरुले तपाई राष्ट्रिय पार्टीमा के बन्दै हुनुहुन्छ भनेर सोध्नुहुन्छ ? मलाई थाहा छैन । तपाई उम्मेदवार हो कि समानुपातिक सुरक्षित गर्नुभयो कि भन्छन् । हाम्रो पुरानो राजनीतिले गरेको त्यही नै हो । पहिले देखिनै आफू सुरक्षित हुने र आफ्नो लागि मात्र गर्ने राजनीति हुँदै आएको छ । हामीले भन्यौं–हामी हुनुपर्यो ।’








