सकेसम्म सर्वसम्मतिले जाऔँ, मतदान नै चाहिए त्यो पनि हुन्छ : ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी महाधिवेशनमा मतदान गर्न चाहनेहरुका लागि मतदानबाटै पदाधिकारी चयन हुने बताएका छन् ।

आईतवार दिउँसो पार्टी केन्द्रिय कार्यालय च्यासलमा एघारौँ राष्ट्रिय महाधिवेशनको प्रतिक चिन्ह (लोगो) सार्वजनिक गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । महाधिवेशनमा संगठनात्मक विषय, राजनीतिक प्रतिवेदनमा कुनै हेरफेर गरिराख्नुपर्ने अवस्था नरहेको बताए ।

विधानमा ठूलो परिवर्तन गर्नुपर्ने केही नरहेको भएपनि आवश्यक परे केही छोटो विधिबाट गर्न सकिने स्पष्ट पारे । उन्नत सहमतिका साथ महाधिवेशनलाई एकताको महाधिवेशनको रुपमा अघि बढाउन उनको आह्वान छ । ‘महाधिवेशनमा मतदान हुन्छ, कसैले मतदान गर्न नदिएर, मतदान नै नभएर सर्वसम्मति गर्नुपर्छ भन्ने नाममा कसैलाई अघि बढ्नै नदिएर रोक्ने काम हुन्छ की भन्ने काम हुँदैन । प्रतिष्पर्धा खुला हुन्छ, प्रतिष्पर्धा गर्न चाहनेले राम्रोसँग प्रतिष्पर्धा गर्न पाउँछ । तर अध्यक्षका हैसियतले मेरो आग्रह के हुन्छ भने जसले छोड्नुपर्छ सहमतिका साथ छोडौँ, जो बस्नुपर्छ, सहमतिका साथ बसौँ । सहमतिका साथ जाऔँ’ उनले भने ।

महाधिवेशन पुनःगठन, पुनः संरचना, रुपान्तरण, पुस्तान्तरणको थलो भएको बताउँदै सकेसम्म सहमतिका आधारमा पदाधिकारी टुंग्याउन आग्रह गरे ।

सर्वसम्मति हुन नसके मतदान अनिवार्य हुने पनि स्पष्ट पारे । एकतावद्ध भएर महाधिवेशनमा जान र कसैलाई अपमान नगर्न उनको आग्रह छ । ‘एमालेमा डेमोक्रेसी छैन, चुनाव नै लडेन । कसैलाई चुनाव लड्न दिइएन । नदिइएको होइन, एकतावद्ध भएर जाऔँ । कसैलाई अपमान नगरौँ । परस्परमा सम्मानको संस्कृति विकास गरौँ’ उनले भने ।

अध्यक्ष ओलीले प्रतिष्पर्धालाई एमालेले नराम्रो नमान्ने पनि स्पष्ट पारे । आफूहरुले रोजेर नै प्रतिष्पर्धाको तरिका ल्याएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =