सर्वपक्षीय बैठक आह्वान गर्न राप्रपाको माग (भिडिओ)

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजा, राजनीतिक दल र जेन–जी लगायत सरोकारवालाको सर्वपक्षीय बैठक आह्वान गर्न अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई दबाब दिएको छ ।

शनिवार बालुवाटारमा प्रधानमन्त्री कार्कीलाई भेटेर राप्रपाले राजा, राजनीतिक दल र जेन–जी लगायत सरोकारवालाको सर्वपक्षीय बैठक आह्वान गर्न दबाब दिएको हो ।

अन्तरिम सरकार २०८४ मा हुने निर्वाचन २०८२ मा गराउन मात्रै नबनेको स्पष्ट पारेको पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले बताए । निर्वाचन नै समस्याको समाधान नभएको उनको भनाइ छ । अन्तरिम सरकारले देशलाई दीर्घकालीन निकास दिनुपर्ने बताए । राप्रपाले आगामी निर्वाचनमा विदेशमा बस्ने नेपालीहरूले मतदान गर्न पाउने व्यवस्था गर्न पनि माग गरेको छ ।

लिङदेनले जेन जी आन्दोलनका प्रमुख पक्ष शहीद परिवार र घाइतेहरू भएकाले उनीहरूको मागलाई सम्बोधन गर्न पनि आग्रह गरेका छन् । जेनजी प्रदर्शनमा सहभागी भएकै आधारमा मानिसहरू पक्रिने र दुःख दिने काम भएको बताए । राप्रपाले प्रदर्शनमा मात्रै सहभागी भएकै आधारमा पक्रिने काम गर्न पनि आग्रह गरेको छ । जेनजीका प्रमुख व्यक्तिहरूलाई नै सिंहदरबार प्रवेश गर्न नदिने, लछारपछार गर्ने काम भइरहेको भन्दै यस्तो काम बन्द गर्न आग्रह गरेको जानकारी दिए । अध्यक्ष लिङदेनले सरकारका बारेमा राप्रपाले मंसिर २३ गते काठमाडौँमा ध्यानाकर्षण सभा गर्ने र देशभर यस प्रकारका सभाहरू आयोजना गर्ने जानकारी प्रधानमन्त्री कार्कीलाई गराएको बताए ।

उनी भन्छन्, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिले बनेको सरकार २०८४ मा हुने निर्वाचन २०८२ मा गराउन मात्रै होइन । देशको समस्याहरूको समाधान गर्ने गरी कार्यक्रम अघि बढाओस् र केबल निर्वाचन गरेर समस्या पर ठेल्ने काम नगरोस् । अहिले हुने चुनाव समस्याको समाधान होइन । राजा, राजनीतिक दल, जेनजी लगायत सरोकारवालाको सर्वपक्षीय बैठक बसाओस् र देशलाई दीर्घकालीन निकास देओस् त्यसको पहल गरोस् यो सरकारले भनेका छाँै । आउने चुनावमा विदेशमा बस्ने नेपालीहरूले भोट दिन पाउने सुनिश्चितता गरियोस् । त्यो सम्भव छ र कार्यान्वयन गरियोस् । जेन जी आन्दोलनका प्रमुख पक्ष शहीद परिवार र घाइतेहरू हो । उनीहरूका मागहरू सम्बोधन गरोस् । जेनजी प्रदर्शनमा सहभागी भएकै आधारमा मानिसहरू पक्रिने र दुःख दिने काम भएको छ । त्यसमा आपराधिक क्रियाकलामा सहभागी भएकालाई समात्नुपर्छ । तर प्रदर्शनमा मात्रै सहभागी भएकै आधारमा पक्रिने काम बन्द होस् । जेनजीका प्रमुख मानिसलाई नै सिंहदरबार प्रवेश गर्न रोक लगाउने, दिउँसोभर थुन्ने, लछारपछार गर्ने र राति छोडिदिने काम भएको छ । यो रोकियोस् । यसै विषयमा केन्द्रित रहेर २३ गते ध्यानाकर्षण सभा काठमाडौँमा गर्ने र देशभर यस प्रकारका सभाहरू गर्ने जानकारी दिएका छौँ ।’

लिङदेनले राजासहितको सर्वपक्षीय छलफलबारे प्रधानमन्त्री कार्कीले यसबारेमा अहिले केही नसोचेको र आफ्नो क्षेत्र नभएको बताउनुभएको जानकारी दिए । सरकार प्रमुखको नाताले सबै पक्षलाई बोलाएर समाधान निकाल्न संयोजनको काम भएको आफूहरूले बताएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + eighteen =