काँग्रेसमा अब नियमित महाधिवेशन हुने पक्का, शेखरको प्रस्तावमा देउवाको सहमति !

काठमाडौँ । नेपाली काँग्रेसभित्र महिनौँदेखि चर्किरहेको महाधिवेशन विवाद अन्ततः समाधानतर्फ उन्मुख भएको छ । उपचारपछि स्वदेश फर्किए लगत्तै सभापति शेरबहादुर देउवाले सहमतिको पहल तीव्र पारेसँगै पार्टी नियमित महाधिवेशनको बाटोमा गएको हो ।
विशेष महाधिवेशनको माग उठाउँदै आएका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको अडान कमजोर हुँदै गएको छ । पुसभित्रै नियमित महाधिवेशन गरेर मार्गचित्र टुङ्ग्याउने देउवाको योजनाले गति लिन थालेको देखिएको छ ।
जेनजी आन्दोलनपछि देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक बनाएका थिए । तर खड्काले सर्वसम्मत सहमति नभएसम्म केन्द्रीय कार्यसमिति नबस्ने घोषणा गरेपछि पार्टीभित्र तनाव झनै बढेको थियो । हरेक बैठक सारिँदै जाँदा विशेष महाधिवेशनको माग उठाउँदै आएका गगन–विश्वप्रकाश पक्ष थप आक्रामक बनेको थियो । तर पछिल्लो २४ घण्टामा घटनाक्रमले अर्कै मोड लिएको काँग्रेस नेताहरू बताउँछन् ।
देउवाले शुक्रवार बिहानैदेखि विमलेन्द्र निधिदेखि कृष्ण सिटौला, प्रकाशमान सिंह, विजय गच्छदार, डा. शशांक कोइरालासहित सात शीर्ष नेतालाई बोलाएर छलफल गरे । छलफलमा अधिकांश नेताले चुनावअघि विशेष महाधिवेशनले पार्टीलाई क्षति पुर्याउने र नियमित महाधिवेशन नै व्यावहारिक विकल्प हुने तर्क राखे । देउवा नजिकका नेताहरूले अब पुसभित्रै नियमित महाधिवेशन गर्ने तयारी थाल्न सुझाव दिएका छन् ।
स्थापनाभित्र छुट्टै बसेको भेलाले विशेष महाधिवेशन पुसमा सम्भव नभएको निष्कर्ष निकाली सकेको छ । महाधिवेशन वैशाखसम्म धकेल्न हुँदैन भन्ने निष्कर्ष निकाल्दै हस्ताक्षरकर्तालाई फिर्ता ल्याउने अभियान सुरु गर्ने निर्णय पनि गरेको छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको पहलकदमीमा निरन्तर जुटिरहेका थिए । तर डा.शेखर कोइराला नियमित महाधिवेशनको पक्षमा खुलेपछि उनीहरूको अडान अल्पमतको धारणा जस्तै देखिन थालेको छ ।
नजिकिँदै शेखर–देउवा
डा.शेखर कोइराला पनि नियमित महाधिवेशनकै पक्षमा खुलेर उभिएपछि विशेष महाधिवेशनको माग झनै कमजोर बनेको छ ।
नेता कोइरालाले पार्टी फुट्ने सम्भावना भएकाले विशेष महाधिवेशनमा नजाने र समयमै नियमित महाधिवेशन गरेरै विवाद टुङ्ग्याउनुपर्ने बताएका छन् । उसो, त नेता कोइराला १४ औँ महाधिवेशन पछि नै पार्टीको १५ औँ महाधिवेशन निर्धारित समयमै गर्नुपर्ने बताउँदै आएका थिए ।
नेता कोइराला पार्टीको नियमित महाधिवेशनका लागि पार्टीका सबैजसो कार्यक्रममा आवाज उठाउँथे । अहिले विशेष महाधिवेशनको चर्चामा पनि नेता कोइरालाले नियमित महाधिवेशनका लागि छलफल चलाइरहेका थिए ।
‘पुसभित्र नियमित महाधिवेशन हुन सके भने राम्रो, नभए विधानअनुसार विशेषमा जानुपर्ने हो तर प्रमाणीकरणमा गए पार्टी फुट्न सक्छ भन्ने शेखर दाइको चिन्ता प्रमुख हो’ एक नेताले भने ।
यही धारणा देउवाको सहमतिको बाटोसँग मेल खाँदा दुवै समूह नियमित महाधिवेशनको पक्षमा उभिन पुगेका छन् । यही नयाँ समीकरणले विशेष महाधिवेशनको पक्षमा रहेका गगन–विश्वप्रकाश पक्ष कमजोर भएको बुझिन्छ ।
देउवा नजिकका नेताहरूले पुसभित्र नै नियमित महाधिवेशनको तयारी थाल्न सुझाव दिएका छन् । विशेष मागसहित हस्ताक्षर गरेका नेताहरूलाई संस्थापन पक्षले फिर्ता ल्याउने निर्णयसमेत बनेपछि गगन–विश्वप्रकाशले खोजिरहेको विशेष महाधिवेशनको सपना पुरा नहुने देखिएको छ । ‘अब पार्टी सबैले मिलेर बचाउनुपर्छ । महाधिवेशन वैशाख होइन, पहिले नै गर्नुपर्छ भन्ने हाम्रो निष्कर्ष हो । सभापतिजी सर्वसम्मतिमा अघि बढ्ने मुडमा हुनुहुन्छ’ एक नेताले भने ।
महामन्त्रीद्वयको विशेष प्रस्ताव अलपत्र
महामन्त्री गगन थापाले प्रतिनिधिद्वारा हस्ताक्षरित मागअनुसार विशेष महाधिवेशनमै जानुपर्ने धारणा देउवालाई सुटुक्क प्रस्तुत गरिसकेका छन् ।
तर देउवाले अन्य नेतासँग थप छलफल गरेर व्यापक सहमति बनाउने आश्वासन दिएपछि उनको अडान पनि ढिलो–बाटो मुलुकदर्शी बन्न बाध्य भएको स्रोतहरू बताउँछन् ।
अर्का महामन्त्री विश्वप्रकाश शर्माले दुवै महाधिवेशन गर्न सकिने प्रस्ताव राखे पनि संस्थापन पक्ष त्यो विकल्पमा जान इच्छुक छैन ।
देउवाले नजिकका केही नेताहरूको छुट्टै भेलाले नै वैशाखमा नियमित महाधिवेशन गर्ने र पुसमा विशेष महाधिवेशन कुनै हालतमा नगर्ने निर्णय लिएको छ ।
कार्यवाहकको जिम्मेवारी पाएका खड्काले महाधिवेशनमा सहमति नजुटेसम्म केन्द्रीय कार्यसमिति बैठक नबस्ने स्पष्ट गरेका छन् । खड्काले बिहीबार राति पार्टीमा सर्वसम्मत निर्णय गर्ने अवस्था नआएसम्म केन्द्रीय कार्यसमितिको बैठक सारिरहने भन्दै सामाजिक सञ्जालमा पोस्ट गरे ।
शुक्रवार तय गरिएको बैठक सार्नु परेकोमा माफी माग्दै खड्काले लेखेका छन्, ‘माफ पाऊँ सबैसँग बैठक सारेकोमा गाली सबैले मलाई गर्नुस् जसले गाली गर्न डिजर्ब गर्नुहुन्छ । जबसम्म सर्वसम्मत निर्णय गर्ने अवस्था बन्दैन म बैठक सारिरहन्छु । म कार्यवाहक रहेसम्म ।’
चार वर्षअघि सम्पन्न काँग्रेसको १४ औँ महाधिवेशनले तोकेको वर्तमान पार्टी नेतृत्वको आवधिक कार्यकाल मङ्सिर ९ गतेबाट सम्पन्न भइसकेको छ । पार्टी विधानले विशेष अवस्थामा महाधिवेशन एक वर्ष पर सार्न सकिने सुविधा दिएको छ ।
महाधिवेशन प्रतिनिधिहरूले विधि पुर्याएर हस्ताक्षर दर्ता गराएमा ९० दिनभित्र अधिवेशन डाक्नुपर्ने प्रबन्ध पनि उल्लेख छ । सोहीअनुसार विशेष अधिवेशनका पक्षधरले विशेष महाधिवेशनको विकल्प नभएको अडान लिँदै आएका छन् ।








