घनश्याम भुसाल भन्छन्ः ‘पुरानै नेताहरुको पुनरागमनले देश डरलाग्दो द्वन्द्वतर्फ जाँदैछ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी पुनर्गठन अभियान) का नेता घनश्याम भुसालले जेनजी आन्दोलनको मुद्दालाई प्रमुख राजनीतिक दलका नेताहरूले नजरअन्दाज गरिरहेको आरोप लगाएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) र नेकपा (एकीकृत समाजवादी पुनःगठन अभियान) एकता घोषणा कार्यक्रममा उनले फेरि समाजले रिजेक्ट गरेका पुरानै अनुहारहरु राजनितिमा सक्रिय हुने प्रयासमा लागिरहेको बताए ।

फेरि राजनीतिक नेतृत्व पुरानै हातमा फर्कियो भने देश अर्को डरलाग्दो द्वन्द्वतर्फ जाने उनको दाबी छ । जेनजी आन्दोलनको अर्थ–राजनीतिक ओज धेरै गहिरो रहेको बताउँदै उनले यसलाई नबुझ्नु राजनीति पक्षबाट भयंकर नालायकी हुने उल्लेख गरे ।

संविधान निर्माणपछि देशमा असाधारण राष्ट्रिय आकांक्षा बने पनि त्यही समय कम्युनिष्ट नेतृत्वले सही निर्णय गर्न नसक्दा जनतामा तिब्र निराशा पैदा भएको उनले बताए ।

उनकाअनुसार शासन संयन्त्रका सबै तहमा जनताको विश्वास गुमेपछि जेन—जी आन्दोलनको नाममा विद्रोह भएको बताए । उनले मानिसले प्रधानमन्त्री, मन्त्री, न्यायाधीश र नेता को हो भनेर छुट्याउनै छाडेको बताए ।

राज्य संयन्त्रप्रतिको अविश्वासले जनताको आक्रोश सडकमा जेन—जी आन्दोलनका रूपमा अभिव्यक्त भएको उनको भनाई छ । भदौ २३ र २४ का घटनालाई देशभित्र तथा बाहिरका आपराधिक, पपुलिस्ट, सत्तालोलुप र षड्यन्त्रकारी शक्तिले दुरुपयोग गरेको उनले बताए ।

भदौ २३ र २४ को ताण्डवले मुलुक अझ ठूलो संकटतर्फ धकेलिएको उनको भनाई छ । उक्त आन्दोलनमा देशको करिब एक तिहाइ अर्थतन्त्र ‘भाँचिसकेको’ उनको दाबी छ ।

उनले कम्युनिस्ट आन्दोलनकै केही नेताहरू सत्ता र स्वार्थका लागि राजनीतिको चुलीमा बसेर नेपाललाई यो स्थितिमा पु¥याएको आरोप लगाए ।

एकीकृत समाजवादी पुनर्गठन अभियान अब नेकपा (संयुक्त) को ब्यानरबाट चल्ने भएको छ । पार्टीको चुनाव चिन्ह हँसिया रहनेछ भने दुई महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने सहमति पनि भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =