व्यावसायिक सीपमार्फत युवालाई आत्मनिर्भर बनाउँदै गण्डकी प्रदेश

गण्डकी । गण्डकी प्रदेश सरकारले व्यावसायिक सीपका माध्यमबाट युवालाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ विभिन्न सीपमूलक तालिम सुरु गरेको छ ।
गण्डकी प्रदेशका युवालाई आत्मनिर्भर, उद्यमशील र व्यावसायिक रूपमा सशक्त बनाउन लक्षित तीन महिनाको (३९० कार्यघण्टा) विभिन्न सीपमूलक तालिम कार्यक्रम सञ्चालन गरिएको व्यावसायिक तथा सीप विकास तालिम केन्द्र कास्कीका प्रमुख अनिल सुवेदीले जानकारी दिए । उनका अनुसार केन्द्रले विभिन्न १३ शीर्षकमा तालिम सञ्चालन गर्न लागेको हो ।
तालिममा सहभागी हुनका लागि एक हजार तीन सय ५५ जनाले फाराम भरेकामध्ये २९९ जनालाई यसपटक छनोट गरिएको छ । प्रशिक्षार्थीलाई दैनिक रु ७५ खाजा खर्च उपलब्ध गराइने र दैनिक पाँच घण्टा तालिम सञ्चालन हुने उनले जानकारी दिए ।
यसपटक प्रदान गर्न लागिएका तालिममा कुक, कपाल काट्ने (सैलुन), आधारभूत केश–शङ्गार (ब्युटीपार्लर), विद्युत् जडान, प्लम्बिङ, मोबाइल मर्मत, आधारभूत कम्प्युटर, सिलाइकटाइ बुटिक डिजाइन, मोटरसाइकल मर्मत, अटोमोबाइल, मन्टेश्वरी शिक्षा लगायतका सीप समावेश रहेको केन्द्रले जनाएको छ ।
यसैबीच तालिमको एक कार्यक्रमका बीच आज उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले युवालाई सीपमार्फत रोजगारी, व्यावसायिक अवसर र आत्मविश्वास जोड्ने यो पहल ऐतिहासिक बन्ने विश्वास व्यक्त गरे ।
“सीप सिकेर सानो कोही हुँदैन, सम्मानकासाथ सिक्न आवश्यक छ”, उनले भने “श्रमको सम्मान गर्दै नेपालमै बसेर उद्यमी बन्न सबैलाई आग्रह गर्दछु ।”
तालिम लिएर उद्यम सुरु गर्न चाहनेका लागि प्रदेश सरकारले बीउ पुँजी(सीड मनी) का लागि बजेट व्यवस्था गरेको बताउँदै उनले बैंकसँग समन्वय गरेर ५० प्रतिशत प्रदेश सरकार र ५० प्रतिशत लगानीकर्ताद्वारा उद्यम स्थापना गर्न सकिने जानकारी दिए ।
सरकारले प्रशिक्षार्थीको अवस्थाको निरन्तर अनुगमन गर्ने उनले बताए । गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानका प्रमुख डा सोमनाथ सापकोटाले सीपको बढ्दो महत्व र व्यवसायिक शिक्षाको आवश्यकतामाथि जोड दिए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + eighteen =