जसपा, नाउपा नेपाल र राष्ट्रिय मुक्ति पार्टीले एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा जाने

काठमाडौं । जनता समाजवादी पार्टी, राष्ट्रिय मुक्ति पार्टी र नागरिक उन्मुक्ति पार्टी, नेपालले एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा प्रतिष्पर्धा गर्ने भएका छन् ।
बुधवार निर्वाचन आयोग पुगेर अशोक राई, राजेन्द्र महतो र रेशमलाल चौधरीले एउटै चुनाव चिन्हबाट निर्वाचन लड्ने भन्दै निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।
सञ्चारकर्मीहरुसँग कुरा गर्दै जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले जसपाको नेपाली कम्युनिष्ट पार्टीसँग कुनै एकता नहुने र निर्वाचन पछि पनि कुनै कम्युनिष्ट पार्टीमा मिसिने सम्भावना नरहेको जिकिर गरे ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले टुट्नु र फुट्नु राजनीतिको संस्कार भएको बताए । सबैभन्दा ठूलो कुरा मुद्दा हुने भन्दै आफ्नो मुद्दामा अडिग रहन सक्नुपर्ने बताए । ‘टुट्ने फुट्ने भनेको राजनीतिक संस्कार हो । सबैभन्दा ठूलो कुरा मुद्दा हो । मुद्दा उडेको देखियो भने समात्न खोज्ने हो । देश रहेन भने केको अधिकारी ? केको थारु देश ठूलो कुरा हो’ उनले भने ।
राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले मूल्य, मान्यताको आधारमा एकीकृत हुनसके विभाजन कम हुने बताए । तर आफूहरु एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा सहभागी हुने उद्देश्यका साथ निर्वाचन आयोग पुगेको बताए ।
आफूहरु खास उद्देश्य र लक्ष्यका साथ सहकार्य गरिरहेको बताए । ‘मुख्य रुपले मूल्य, मान्यताको आधारमा एकीकृत भयो भने त्यो विभाजन कम हुन्छ । हाम्रो यो अहिले एकल चुनाव चिन्हमा तीन वटा दल जाने निर्णय गरेका छौँ । यो खास उद्देश्य र खास लक्ष्य प्राप्तिका लागि सहकार्य गर्ने निर्णय गरेका हौँ । देशमा अधिकार पहिचान, सुशासन, सभ्यता, संस्कृतिको सवालमा एकजुट हुनेछौँ’ उनले भने ।
निर्वाचन आयोगमा हालसम्म १०१ वटा राजनीतिक दलहरुको निवेदन परेको निर्वाचन आयोगले जनाएको छ ।








