पोखरामा चाँडै त्रिविको पठनपाठन सुरु हुन्छ : उपकुलपति अर्याल

काठमाडौं । पोखरामा पनि त्रिभूवन विश्वविद्यालय (त्रिवी) को पठनपाठन शुरु हुने भएको छ ।
बुधवार सो विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले प्रश्तुत गरेको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको हो ।
गण्डकी प्रदेश र त्यसको सेरोफेरोलाई पनि हुने गरी यस वर्ष पोखरामा सो विश्वविद्यालयको पठनपाठन हुने गरी पोखरामा त्रिविको च्याप्टर स्थापना गर्न लागिएको बताए । उनले सञ्चारकर्मीहरुमाझ त्रिविको पठनपाठनका लागि काठमाडौंमा नै आउनुपर्ने बाध्यात्मक अवस्थालाई अन्त्य गर्न पनि पोखरामा त्यसको च्याप्टर तत्काल स्थापना गर्न लाग्ने र सबै प्रदेशमा त्यसलाई सञ्चालनमा ल्याउने नीति तथा कार्यक्रम रहेको स्पष्ट पारे ।
त्रिवि पुनर्संरचना गर्ने सरकारको नीति अनुसार सो काम गर्न लागिएको पनि उपकुलपति अर्यालले बताए ।
सो विश्वविद्यालयको नीति तथा कार्यक्रममा जीर्ण रहेका भौतिक पूर्वाधार निर्माणमा जोड दिने, विश्वविद्यालयको अनुसन्धान विभागहरुलाई प्रभावकारी रुपमा अघि बढाउने पनि उल्लेख गरिएको छ ।
उपकुलपति प्रा. डा. अर्यालले विश्वविद्यालयले अनुसन्धानको कामलाई पनि विशेष ढंगले अघि बढाउने योजना तय गरेको बताए ।








