भारतसँग विद्युत खरिद गर्दा राज्यलाई कुनै नोक्शानी भएको छैन : सिलवाल

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले भारतसँग विद्युत खरिद गर्दा राज्यलाई कुनै नोक्शानी नभएको दाबी गरेका छन् ।
राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सोमवार बसेको बैठकमा उनले भारतीय कम्पनीहरूले उपलब्ध गराएका प्रश्तावहरूमध्ये सबैभन्दा सस्तो दरमा विद्युत खरिद गरिएको दाबी गरेका हुन् ।
जाडोयाममा विद्युत मागलाई धान्न नेपाल विद्युत प्राधिकरणले भारतको पावर ट्रेड कर्पोरेशन (पिटिसी) इण्डियाबाट १८० मेगावाट विद्युत आयात गर्ने सम्झौता गरेको छ ।
कार्यकारी निर्देशक मनोज सिलवालले भारतीय कम्पनीहरूले उपलब्ध गराएका प्रश्तावहरूमध्ये पिटिसी इण्डियाको दर सबैभन्दा सस्तो भएपछि असोज १० गतेको सञ्चालक समितिले निर्णय गरी असोज २७ मा खरिद सम्झौता गरिएको जानकारी दिए ।
जाडोयाममा माग धान्न आयात गर्नुपर्ने बाध्यता भएकाले यसपटक चाँडै खरिद प्रक्रिया अघि बढाइएको उनले बताए । गतवर्ष भारतले केवल ‘सोलार आवर’ (बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म) मा मात्र विद्युत उपलब्ध गराएपछि साँझको पिक–आवरमा माग धान्न कठिनाइ भएकोले उनले जानकारी दिए ।
गत वर्षमा केही उद्योगलाई सिमित क्षमता मात्रै सञ्चालन गर्नुपरेको उनको भनाई छ । उनकाअनुसार विद्युत आयातका लागि प्राधिकरणले पिटिसी इण्डिया र एनटिपीसी विद्युत व्यापार निगम (एनभिभिएन) सँग प्रश्ताव मागेको थियो ।
पिटिसी इण्डियाले प्रति युनिट भारतीय रुपैयाँ ६.९५ को दर प्रश्ताव गरेको र एनभिभिएनले ७.६७ रुपैयाँ प्रश्ताव गरेको उनले बताए । पावर एक्सचेन्ज कमिटीमार्फत खरिद गर्ने विकल्पमा दर ८.१० रुपैयाँ पर्ने हुँदा त्यो विकल्प अझ महँगो हुने प्राधिकरणको निष्कर्ष छ ।
सिलवालकाअनुसार सबै विकल्पमध्ये पिटिसी इण्डियाको दर सबैभन्दा आकर्षक थियो । त्यसैले १८० मेगावाट विद्युत खरिद गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।
गत आर्थिक वर्षमा नेपालले २ अर्ब ३८ करोड युनिट विद्युत भारततर्फ निर्यात गरेको थियो भने १ अर्ब ६८ करोड युनिट विद्युत आयात गर्नुपरेको थियो ।
उनले पिटिसी इण्डियाको प्रश्ताव छोटो समयको रहेकोले ८ दिनमै निर्णय गर्नुपरेको पनि बताए । उनकाअनुसार प्रश्ताव सेप्टेम्वर २२ मा आएर २८ सम्म मात्रै मान्य रहने भएकाले छोटो समयमै निर्णय गर्नुपरेको बताए ।
सञ्चालक समितिले असोज १० मै निर्णय गरी पिटिसीलाई सोही दिन पत्राचार गरेको उनले जानकारी दिए । उनले यदि पिटिसी इन्डियाको प्रश्ताव गुमाएर एनभिभिएनको प्रश्ताव रोजिएको भए प्राधिकरणलाई करिब ७५ करोड १४ लाख रुपैयाँ बढी नोक्सान हुने बताए ।
त्यस्तै, पावर एक्सचेन्जमार्फत ८.१० रुपैयाँ दरमा खरीद गर्नुपरेमा करिब १ अर्ब २० करोड रुपैयाँ नोक्शानी हुने उहाँको दाबी छ । कार्यकारी निर्देशक सिलवालले भारतमा विद्युतको दर स्थिर नरहने र वर्षेनी महँगो हुँदै जाने बताए ।
सन् २०२२ मा १२ रुपैयाँमा बत्ती किनेको उनले जानकारी दिए । हाल ६ रुपैयाँ ९५ पैसामा खरिद गर्दा सरकारलाई नोक्सानी नभई लाभ नै भएको उनको दाबी छ ।
उनले पीटिसी इण्डियासँग विद्युत खरिद एकदमै प्रतिस्पर्धात्मक हिसावले रहेको बताए ।








