‘म पनि एक दिन कसैकी आमा बन्छु’

सुदूरका पहाडले अड्याएका थिए उसको बाल्यकाल,
नदीको कलकलसँगै बग्थ्यो उसको सपना,
तर गाउँलेहरूका दृष्टि जति उचाइमा पुग्थे
उतिनै खुम्चिन्थे उसका अधिकारहरू ।

बालिकै उमेरदेखि उसलाई सिकाइयो—
“नारीको आवाज हलुका हुन्छ,
कदम सीमित हुन्छ,
सपनाले चुलो–भान्सा पार गर्दैन ।”
तर उसको मनभित्र कुँदिएको थियो—
कडा ढुङ्गाभित्र आगोझैँ दह्रिएको साहस ।

छाउपडीको अँध्यारो कोठामा
उसले धेरै पटक चिसो भुइँसँग कुरा गरिछे,
“किन म अशुद्ध ?
किन मेरो अस्तित्व दिनमा नै दोष ठहरिन्छ ?”
पाखुरीको हड्डी जस्तै कठोर समाजका पुराना बन्धनहरू
उसका आँसुले छोइए पनि नगल्थे ।

रात परेपछि कहिलेकाहीँ
उसले सुन्थी— बलात्कारमा परेका
नाबालिका छोरीहरूको चीत्कार ।
आँसुले हृदय भिज्थ्यो,
तर गाउँलेका कानमा त्यो चीत्कार
“लाज” बनेर थुनिन्थ्यो ।

एक दिन उसले आफैँलाई भनिछे—
“अब म चुप बस्दिनँ,
मेरी छोरीले यो अपमान बोक्नुपर्छ भने
मेरो जन्म व्यर्थ हुनेछ ।”

त्यसपछि सुरु भयो उसको लडाइँ—
एकान्त पहाडसँग,
जङ्गली सोचसँग,
रिवाजका जञ्जिरसँग,
नारीलाई वस्तु ठान्ने आँखाहरूसँग ।

घरका मान्छेले तिरस्कार गरे—
“नारी घर सम्हाल्छे, समाज बदल्दिन ।”
तर ऊ चुप लागिन,
किनकि उसले थाहा पाइसकेकी थिई—
परिवर्तनको अङ्कुर
सबैभन्दा पहिले मनभित्रै पलाउँछ ।

सहर पुगेपछि उसले देखिन् आधुनिकता
तर भोगिन् अर्कै पीडा—
बढ्दो भाडाको कोठामा
छोराछोरीका सपनाहरू
सिजन अनुसारका कपडाजस्तै
थपिँदै–घट्दै गर्थे ।

आमाको हातले बनाएको रोटी
बच्चाहरूका उज्याला दिमागले
कमाएर ल्याउने भोलिको भविष्यसँग
साटिन्थ्यो ।

उनले सोच्थिन्—
“मेरी आमा पनि यस्तै संघर्षमा थिइन् होला,
बुझिनँ म पहिले,
आज मातृत्वको वास्तविक मूल्य
मेरो धमनीमा ढुकढुकाइरहेको छ ।”

सहरमा रातभर पढेर
छोराले भोलि ‘डाक्टर बन्छु’ भन्थ्यो,
छोरीले ‘इन्जिनियर’ भन्दै
उसको काखमा टाउको टेक्थी ।
त्यस क्षण उसले महसुस गर्थी—
एक आमाको सपनाभन्दा ठूलो
संसारमा अरू कुनै सपना हुँदैन ।

तर समाजको घाउ पानीले मात्रै धुँदैन,
उसले बुझेकी थिई—
नाबालिग बलात्कार
कानुनले मात्र होइन,
समाजमा बदलिनुपर्ने सोचले घट्छ ।

छाउपडी हटाउन उसले गाउँ–गाउँमा हिँडेर
माटो जस्तै कठोर विश्वासहरू
न्यानो बोलीले पगालिरही ।
बालविवाह रोक्न
उसले थुप्रै चुल्हामा
ज्ञानको उज्यालो बालिरही ।

आफ्नै जीवनको चिरा भित्र
उसले अरूका चोट सिलाइरही ।
उसले नसकेको सपना, उही सपना
अरू नारीहरूको आँखामा
फलाइरही ।

समाजले धेरै पटक रोक्यो—
“नारीको भाग्यमै लेखिएको हुन्छ,
तँ किन बदल्न खोज्छेस् ?”
तर ऊ हाँस्थी—
“भाग्य होइन,
मेरा छोराछोरीको भविष्य लेख्दै छु म ।”

र एक दिन साँझ
बगिरहेको कञ्चन नदी किनारमा
आकाश रात्तिँदै गर्दा
उसले आफैँसँग फुसफुसाई—

“म पनि एक दिन कसैकी आमा बन्छु,
आज जस्तै संघर्ष बोकेर होइन
उज्यालो भोलि बोकेर ।
मेरो छोरा–छोरीले
लाजको नाममा कुनै कोठा बन्द नदेखून्,
मेरो छोरीको शरीर होइन
उसको क्षमता मापिएको देखूँ,
मेरो समाजले बलात्कृतलाई होइन
बलात्कारीलाई लाज देओस्,
र मेरो पहाडले फेरि नारीका आँखा होइन
आशा देखोस् ।”

उसको आवाज पहाडभर गुञ्जियो—
एउटी नारीले उठाएको स्वर
जब समाजको स्वर बन्छ
त्यो दिन इतिहास बदलिन थाल्छ ।

  • लेखक / शब्द – माया धामी
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =