काँग्रेस, एमाले र माओवादीकै कारण मुलुक चरम भ्रष्टाचार र परिणामहीन अवस्थामा पुग्यो : जनार्दन शर्मा

काठमाडौं । नवगठित प्रगतिशिल लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले काँग्रेस, एमाले र माओवादी केन्द्रले आ—आफ्नो क्रान्तिकारी छवि बचाउन नसकेकै कारण मुलुक चरम भ्रष्टाचार र परिणामविहीन अवस्थामा पुगेको आरोप लगाएका छन् ।
आईतवार काठमाडौंमा आयोजित प्रगतिशिल लोकतान्त्रिक पार्टी राष्ट्रिय एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले यी तीन पार्टीहरु लामो समय सत्तासीन भएपनि सामाजिक विभेद, प्रशासनिक सुधार र विकासका आधारभूत मुद्दाहरूलाई पर्याप्त प्राथमिकता दिन नसकेकाले मुलुक असफल बन्न पुगेको आरोप लगाए ।
प्रमुख राजनीतिक दलहरुले सुशासन संरचनागत सुधारमा अपेक्षित परिणाम दिन नसकेको उनको टिप्पणी छ ।
उनले मुलुकको विकासका लागि नीतिगत र प्रणालीगत पुनःसंरचना गर्नुको सट्टा मौजुदा संरचनाको दुरुपयोग गर्दै मुलुकलाई थप बर्बादीतर्फ धकेलेको उनको आरोप छ ।
शर्माले पार्टीगत हितलाई भन्दा दीर्घकालीन संस्थागत सुधार, पारदर्शिता र उत्तरदायित्वमा ध्यान दिन सबै राजनीतिक शक्तिहरू जिम्मेवार हुनुपर्ने आवश्यकता समेत औंल्याए ।
उनले आम नागरिकले प्राप्त गर्न नसकेका अधिकारहरुको सुनिश्चितता गर्न पार्टी प्रतिवद्ध रहेको समेत बताए ।








