नयाँ मुख्य सचिवमा ४ जनाको दाबी, पुष्करको बलियो सम्भावना

काठमाडौं । नेपाल सरकारका वर्तमान मुख्य सचिव एकनारायण अर्याल यहि मंसिर ९ गते अनिवार्य अवकाशमा जाँदै छन् । उनि ५८ बर्ष उमेर हद पुरा गरि अवकाशमा जान लागेपछि नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया सुरु भएको छ ।
नेपालको २९ औँ मुख्य सचिवका लागि सिंहदरबारमा उच्चपदस्थ कर्मचारीहरुको दौडधुप बढेको छ । स्थायी सरकारको रूपमा रहेको निजामती प्रशासनको सर्वोच्च जिम्मेवारी सम्हाल्ने मुख्य सचिव पद रिक्त हुन लागेसँगै नयाँ मुख्य सचिव को बन्ला त ?
झण्डै १ लाख कर्मचारीको केन्द्रीय कमान्ड सम्हाल्ने मुख्य सचिव पदलाई राजनीतिक प्रशासकीय संयोजनको संवेदनशील शीर्ष पदका रूपमा हेरिन्छ ।
जेनजी आन्दोलनपछिको संक्रमणकालीन वातावरण, नेतृत्वको भूमिकाबारे बढ्दो अपेक्षा र सुधारको दबाबबीच योग्य, नैतिकवान, समन्वयकारी तथा दूरदर्शी व्यक्तित्वको खोजी तीव्र बनेको छ । जसका लागि चारजना बहालवाला सचिवको नाम चर्चामा छ ।
रक्षा सचिव सुमन अर्याल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव डा. कृष्णहरि पुष्कर, खानेपानी सचिव प्रमिलादेवी शाक्य बज्राचार्य र केन्द्रीय तथ्यांक विभागका प्रमुख तथ्यांक अधिकृत मधुसूदन बुर्लाकोटी मुख्य सचिवको दौडमा छन् ।
जेष्ठतामा १ नम्बरमा रहेका कारण रक्षा सचिव सुमन अर्यालको नाम अगाडि देखिन्छ । तर हालको सरकार युवा केन्द्रित भावना र कार्यसम्पादनमैत्री छवि निर्माणमा केन्द्रित देखिएकाले डा.पुष्करको सम्भावना निकै बलियो रूपमा चर्चा भइरहेको छ ।
चार दाबेदारमध्ये सबैभन्दा कम उमेर र दीर्घ अवधि सेवा गर्न सक्ने क्षमता भएका पुष्करलाई नयाँ मुख्य सचिव बनाउने विषयमा प्रधानमन्त्री सुशीला कार्की पनि सकारात्मक भएको बुझिएको छ ।
जेनजी आन्दोलनपछिको सरकारमा युवा, सक्षम र कार्यउन्मुख नेतृत्व आवश्यक रहेको बताउँदै प्रधानमन्त्रीले डा.पुष्करलाई मुख्य सचिव बनाउन चाहेकी छन् ।
मुख्य सचिवका दावेदार पुष्कर पदस्थापन भएमा पूरै ३ वर्ष मुख्य सचिवका रूपमा निरन्तरता दिन सक्ने क्षमता समेत राख्छन् । जस कारण उनि नै मुख्य सचिव बन्ने सम्भावना बलियो बनेको स्रोत बताउँछ ।
यता, रक्षा सचिव अर्याल जेष्ठतामा अग्रस्थानमा छन् । तर उनी मुख्य सचिव बनेमा केवल ८ महिनामात्रै पदमा रहनेछन् । यसले दीर्घकालीन संस्थागत सुधार र स्थायित्वको दृष्टिले सरकार युवा तथा दीर्घकालीन क्षमता भएको व्यक्तिलाई प्राथमिकता दिनसक्ने अनुमान बलियो बनेको छ ।
त्यस्तै, बुर्लाकोटी र बज्राचार्य दुवै पक्षबाट सक्रिय लबिङ भइरहेको छ । विशेषगरी महिला प्रतिनिधित्वका कारण प्रमिलादेवी शाक्य बज्राचार्यको नाम पनि चर्चामा छ । तर प्राविधिक पृष्ठभूमिबाट आएको कारण मुख्य सचिव बन्न कठिनाइ हुने जनाइएको छ ।
निजामती सेवा ऐन २०४९ ले मुख्य सचिव नियुक्तिमा जेष्ठता र कार्यकुशलता दुबै आधार मान्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ । तर कार्यकुशलता मूल्यांकनका मापदण्ड अझै स्पष्ट नभएकाले हरेक पटक नियुक्ति विवादास्पद बन्ने गरेको इतिहास छ ।
यसपटक पनि जेष्ठतामा आधारित निर्णय गर्ने कि कार्यसम्पादनमा आधारित निर्णय गर्ने भन्ने विषयमा प्रधानमन्त्रीको टीम दोधारमा देखिएकोले प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ ।
स्रोतहरूका अनुसार सरकार र कर्मचारी–समुदायबीच उत्कृष्ट कार्यसम्पादनको माग उच्च भएकाले डा. पुष्करको दाबी बलियो बनेको छ । मंगलबारसम्म नयाँ मुख्य सचिव नियुक्ति हुने प्रबल सम्भावना छ ।








