संस्थापनकै नेताहरू पुगे डा. कोइरालाको दैलोमा, पुसभित्रै महाधिवेशन गर्न दबाब

शेखरको चेतावनी– ‘हस्ताक्षर गनेर महाधिवेशन गरे पार्टी फुट्छ’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मितिलाई लिएर पार्टीभित्र रस्साकस्सी चलिरहेका बेला संस्थापन पक्षकै नेताहरूले इतर समूहका नेता डा. शेखर कोइरालासँग भेटवार्ता गरेका छन् । सभापति शेरबहादुर देउवानिकट मानिने २४ जना केन्द्रीय सदस्यहरूले आइतबार बिहान डा. कोइरालाको सम्पर्क कार्यालय विशालनगर पुगेर नियमित महाधिवेशनका लागि लबिङ गरेका हुन् ।

पार्टीको महाधिवेशन पछि धकेल्ने प्रयास भइरहेको आशंकाबीच संस्थापन पक्षका यी नेताहरूले डा. कोइरालासँग भेट्दै आफ्नो ७ बुँदे मागमा समर्थन जनाउन आग्रह गरे । उनीहरूको मुख्य माग पार्टीको महाधिवेशन प्रक्रिया तत्काल (मंसिरमै) सुरु गरेर पुस मसान्तभित्रै सम्पन्न गर्नुपर्ने भन्ने छ । यसअघि उनीहरूले सोही ब्यहोराको ज्ञापनपत्र पार्टी केन्द्रीय कार्यालयमा दर्ता गराएका थिए ।

विशेष महाधिवेशनले पार्टी फुट्छ : डा. कोइराला
भेटका क्रममा नेता डा. कोइरालाले महाधिवेशनको अनिश्चयप्रति चिन्ता व्यक्त गरे । शनिबारको केन्द्रीय समिति बैठकले महाधिवेशनबारे ठोस निर्णय गर्न नसकेकोमा आश्चर्य प्रकट गर्दै उनले भने, ‘शनिबारकै बैठकले १५औँ महाधिवेशनको निर्णय गर्नुपर्ने थियो, तर प्रस्ताव नै पेस भएन ।’

डा. कोइरालाले नियमित महाधिवेशन पुस मसान्तभित्रै हुनुपर्ने आफ्नो अडान दोहोर्याए । साथै, महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर भेरिफिकेसन गरेर विशेष महाधिवेशनमा जाँदा पार्टी दुर्घटनामा पर्न सक्ने चेतावनी पनि दिए । ‘हस्ताक्षर गनेर विशेष महाधिवेशनमा जाँदा पार्टी फुट्ने सम्भावना प्रबल हुन्छ,’ कोइरालाको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य आङगेलु शेर्पाले भने, ‘बरु केन्द्रीय समितिबाटै सर्वसम्मत निर्णय गरेर निकास खोज्नुपर्छ ।’

भेटमा डा. कोइरालाका साथै डा. मिनेन्द्र रिजाल, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, सञ्जय गौतम, डा. गोविन्दराज पोखरेल लगायतका नेताहरूको उपस्थिति थियो ।

यसअघि सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्मालाई भेटिसकेका यी २४ केन्द्रीय सदस्यको दौडधुपलाई अर्थपूर्ण रूपमा हेरिएको छ । हाल कांग्रेसमा महामन्त्री गगन थापाले पुस १६ देखि १९ सम्म र सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि ३० सम्म महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =