पूर्वमन्त्रीको दैलोमा ‘हामी नेपाल’ : सुदन भन्छन्- सम्झाउन गयौं, किसान भन्छन्- लुट्न आए !

काठमाडौं । ‘हामी नेपाल’ संस्थाका संयोजक सुदन गुरुङ र पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) बीचको विवाद सतहमा आएको छ । शनिबार बाराको जितपुर सिमरा-४, औराहास्थित पूर्वमन्त्री श्रेष्ठको निवासमा संयोजक गुरुङ पुगेपछि घटनाले नयाँ मोड लिएको हो ।
यस घटनालाई दुवै पक्षले आ-आफ्नै ढंगले व्याख्या गरेका छन् । गुरुङले स्थानीय युवालाई नधम्काउन आग्रह गर्न आफू श्रेष्ठको घर पुगेको बताएका छन् भने पूर्वमन्त्री श्रेष्ठले यसलाई ‘गुन्डागर्दी शैलीको प्रवेश’ र ‘आतंक’ को संज्ञा दिएका छन् । पीडित भनिएका एक स्थानीय युवालाई साथमा लिएर सुदन गुरुङ शनिबार श्रेष्ठको निवास पुगेका थिए । यद्यपि, त्यस बखत पूर्वमन्त्री श्रेष्ठ घरमा थिएनन् ।
घरबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै गुरुङले स्थानीय ‘जेनजी’ (नयाँ पुस्ताका युवा) लाई मानसिक तनाव नदिन आग्रह गर्न आफू त्यहाँ पुगेको बताए । ‘उहाँ (किसान श्रेष्ठ)ले बारम्बार युवाहरूलाई थर्काउने र ‘मेन्टल टर्चर’ दिने गर्नुभएको रहेछ,’ गुरुङले भने, ‘द्वन्द्वको वातावरण नबनोस् र भाइहरूको सुरक्षा होस् भनेर हामी वार्ता गर्न गएका थियौं । उहाँ नभए पनि घरमा रहेका मानिसमार्फत यस्तो कार्य नगर्न सन्देश छोडेका छौं ।’
गुरुङसँगै रहेका ती युवाले आफूलाई प्रहरी प्रशासनकै अगाडि ४-५ जनाको समूहले कुटपिट गरेको तर प्रहरी मूकदर्शक बनेको गुनासो गरे । ‘मलाई सुरक्षाको अलिकति पनि महसुस छैन, प्रहरी प्रशासनप्रति नै विश्वास टुटिसक्यो,’ ती युवाले भने ।
श्रेष्ठको आरोप : पार्टीको कामले काठमाडौंमा रहेका पूर्वमन्त्री श्रेष्ठले भने सुदन गुरुङले आफ्नो घरमा अनधिकृत प्रवेश गरी आतंक मच्चाएको आरोप लगाएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले आफ्नो जलेको घर पुनर्निर्माण गरिरहेका कामदारलाई गुरुङले धम्क्याएको बताए ।
श्रेष्ठले लेखेका छन्, ‘म काठमाडौं भएको मौका छोपी कथित जेनजीको नेता हुँ भन्दै लुटपाट र गुन्डागर्दी शैलीमा सुदन गुरुङ प्रवेश गरे । गत २४ गते जलाइएको मेरो घर पुनर्निर्माण गरिरहेका कामदारलाई फेरि घर जलाइदिन्छु र तेरो नेतालाई जे पनि हुन सक्छ भन्दै धम्की दिएको घटनाको म घोर भर्त्सना गर्दछु ।’








