कुलमानको निर्देशनपछि १४ वर्षदेखि अलपत्र कमला पुल ३ महिनाभित्र बनाउन ठेकेदार तयार

काठमाडौं । १४ वर्षअघि निर्माण सुरु गरेर अलपत्र छाडिएको मधेसका धनुषा-सिराहा जिल्ला जोड्ने कमला नदीमाथिको पुल तीन महिनाभित्र बन्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले अलपत्र अवस्थाको कमला नदीको पुल निर्माण चाँडै पूरा गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् ।

शुक्रबार पुलको निरीक्षण गरेपछि घिसिङले यो पुल बनाउने ठेक्का लिएका निर्माण व्यवसायीलाई तुरुन्त निर्माण थाल्न भनेका हुन् । मन्त्री घिसिङका अनुसार पुल तीन महिनाभित्र सम्पन्न गर्न निर्माण व्यवसायी तयार भएका छन् । ‘निर्माण व्यवसायीलाई काममा अब ढिलाइ नगरी तीव्र गतिमा अघि बढाउन स्पष्ट निर्देशन दिइएको छ’, मन्त्री घिसिङले शनिबार बिहान भने, ‘निर्माण व्यवसायीबाट तीन महिनाभित्र निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाइएको छ ।’

विसं २०६८ मा ‘पप्पु कन्ट्रक्सन’ले ३ वर्षभित्र कमला पुल बनाइसक्ने सम्झौता गरेको थियो। तर काम थालेर उसले त्यसै छाड्यो । यसपछि पटकपटक म्याद थपिँदा पनि पुल निर्माण अलपत्र पारेपछि ‘पप्पु कन्ट्रक्सन’लाई सरकारले कालोसूचीमा राख्यो । यसपछि बाँकी काम पूरा गर्ने जिम्मा ‘लुम्बिनी बिल्डर्स’ले लियो। तर उसले पनि अहिलेसम्म पुल अधुरै छाडेको हो । यसै क्रममा मन्त्री घिसिङ अवस्था बुझ्न शुक्रबार कमला पुलको निरीक्षण गर्न पुगेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =