प्रभावकारी सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणमा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफूले सम्हालिरहेका मन्त्रालयका सचिवहरुलाई बोलाएर प्रभावकारी सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भएर काम गर्न एकमुष्ट निर्देशन दिएकी छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अन्य सात मन्त्रालयका सबै सचिवहरुलाई सिंहदरबारमा विशेष निर्देशन दिएकी हुन् ।
उनले सचिवहरुलाई मन्त्री नभएकै कारण काममा बाधा नपरोस् भनेर अधिकार प्रत्यायोजन गरेको र अझै पनि नपुगे थप अधिकार दिन पनि तयार रहेको बताउँदै आफ्नो जिम्मेवारीको कुनैपनि कामका लागि अरुको मुख नताक्न निर्देशन दिइन् ।
जेनजी आन्दोलनको भावनाअनुसार छिटोछरितो सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणमा गम्भीर भएर लाग्न आग्रह गरिन् । ‘हामी अस्थायी हौँ । म क्षणिक हो । ब्युरोक्रेसी स्थायी सरकार हो। तपाईँहरु यही क्षेत्रमा लामो समयदेखि हुनुहुन्छ । अनुभव, दक्षता र विशेषज्ञता पनि तपाईँहरुसँग हुन्छ। मेरो दाहिने–देब्रे जे भने पनि तपाईँहरु हो । मैले निर्देशन दिन सक्छु, सही गरेर दिन सक्छु तर त्यसको कार्यान्वयन तपाईँहरुले नै गर्ने हो। बोलेर मात्र हुँदैन । काम त तपाईँहरुले नै गर्ने हो । त्यसैले नतिजामुखी भएर काम गर्नुहोस्। काममा कुनै प्रकारको बहानाबाजी नहोस्’ उनले भनिन् ।
मन्त्रीको भौतिक उपस्थिति नहुँदा रोकिएका कामहरु केही छन् भने पनि तुरुन्त अगाडि बढाउनुपर्ने उनको भनाइ थियो ।








