‘अब फरक क्षमता भएका व्यक्ति पनि ट्रेकिङ गाइड’

काठमाडौं । नेपालमा पर्यटन प्रवद्र्धनका लागि सबै प्रकारका दक्ष जनशक्ति उत्पादन गर्न थालिएको छ । फरक क्षमता भएका व्यक्तिहरूलाई नेपालमा भित्र्याउनका लागि नेपाल पर्यटन बोर्डले सोहीअनुसारको दक्ष जनशक्ति तयार पार्न लागेको हो ।
महिला गाइड तथा ह्वीलचियर पदमार्ग निर्माण लगायतका कार्य गरेको बोर्डले पछिल्लो समय बहिरा गाइड उत्पादन गर्न तालिम सञ्चालन गरेको छ । बोर्डको सहकार्यमा नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेण्ट (नाथम) ले नेपालमा पहिलो पटक बहिरा (श्रवणशक्ति नभएका वा कम भएका) व्यक्तिहरूका लागि ट्रेकिङ गाइड तालिम सञ्चालन गरेको हो ।
नाथमले दिगो पर्यटन परियोजनाअन्तर्गत सस्टेनेबल टुरिजम डेभलपमेण्ट प्रोजेक्ट (एसटीपी), राष्ट्रिय बहिरा महासंघ नेपाल र बोर्डको सहकार्यमा कात्तिक १८ गतेबाट तालिम सञ्चालन गरिरहेको छ । तालिममा देशका सातवटै प्रदेशबाट २५ जना सहभागी छन् । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) दीपकराज जोशीले विश्वमा करिब ४० करोडभन्दा बढी पर्यटकहरूको श्रवण शक्ति नरहेको बताए । ती पर्यटकहरूलाई नेपालमा भित्र्याउनका लागि भाषा, पहुँच र सहयोगसम्बन्धी समस्या हुने भएकोले बहिरा व्यक्तिहरूलाई नै तालिम दिइएको उनको भनाइ छ । नेपाललाई सहज पर्यटक गन्तव्यका रूपमा स्थापित गर्न यस किसिमका विशेष गाइड तयार गर्नुपर्ने आवश्यकता भएको उनले बताए । उनले फरक क्षमता भएका पर्यटकका लागि विशिष्ट सेवा दिने गाइड नहुँदा उनीहरूमा नेपाल आउँदा आत्मविश्वास कम देखिने गरेको र यो तालिमले त्यसमा ठूलो सहयोग पुर्याउने उल्लेख गरे ।
उनले भने, ‘संसारभरि करिब ४ सय मिलियन माथिका भिजिटर्सहरू यो क्याटागोरीका हुनुहुन्छ । जसलाई विभिन्न गन्तव्यहरूमा जाँदाखेरी कठिनाइ हुने, भाषा नबुझ्ने, गन्तव्यको स्वाद पनि लिन नसक्ने हुँदाखेरी यो रिलेटेड सेग्मेन्टमा पनि हामीले हाम्रो जनशक्ति तयार गर्यौं भने एउटा नयाँ सेग्मेन्टको भिजिटर्स पनि ल्याउन सकिने र नेपाल चाँहि सबैका लागि एक्सेसिवल टुरिजम डेष्टिनेसन हो भन्ने सन्देश पनि प्रचारित हुने हुँँदा हामीले यो कार्यक्रम सुरू गरेका हौँ । हामीलाई आशा छ, उनीहरू नेपालमा आउँदाखेरी चाहिँ हामीलाई छुट्टै सेवा दिने गाइडहरू छैनन्, त्यसैले हामी नेपाल नजाने हो कि भन्ने जुन भिजिटर्समा कन्फिडेन्स हुँदैन नि, त्यो कन्फिडेन्स बढाउनका लागि पनि यो कार्यक्रमले सहयोगी भूमिका खेल्छ ।’
सिईओ जोशीले तालिम प्राप्त बहिरा गाईडहरूको रोजगारीका लागि ट्राभल एजेन्ट, टुर ट्राभल्सहरूसँग समन्वय गर्ने जानकारी दिए । साथै विमानस्थल, विभिन्न देशका राजदूतावास, सूचना केन्द्रहरूमा उनीहरूको सम्पर्क नम्बरसहित जानकारी उपलब्ध गराइने उनले बताए । उनले हाल एक खालको पर्यटकलाई मात्र सेवा सुविधा दिने प्रचलन बढेकोले समावेशी पर्यटनलाई पनि प्रवद्र्धन गर्न यो तालिमको आयोजना गरेको जानकारी दिए । बोर्डले ह्वीलचियर युज गरेर हिँड्ने पर्यटकहरूको लागि हाल केही ट्रेकिङ ट्रेलहरू निर्माण गरेर नेपालको एकदम राम्रो सुन्दर छवि प्रचारित गरिएको पनि उनले बताए । उनले बोर्डको मुख्य उद्देश्य नै सबै प्रकारका पर्यटकहरू नेपाल भित्र्याउनु र फरक क्षमता भएका व्यक्तिहरूले पनि पर्यटनसँग जोडिएर रोजगार पाउन भन्ने रहेको जानकारी दिए ।
उनले भने, ‘अहिले जहाँसुकै एकखालको पर्यटकलाई मात्र सेवा सुविधा दिने प्रचलन छ । अलि अगाडिसम्म हामीले हेर्यौँ भने ह्वीलचियर युज गरेर हिँड्ने पर्यटकहरूको लागि हामीकहाँ समस्या थियो, अहिले पनि छ । तर अझ पहिला चाहिँ अझ बढी थियो के । हामीले केही ट्रेकिङ ट्रेलहरू चाहिँ एक्सेसवल ट्रेल निर्माण गर्यौँ, यसले नेपालको एकदम राम्रो सुन्दर छवि प्रचारित भयो । साथै कतिपय होटलहरूले उनलाई छुट्टै रुम, ट्वाईलेट, बाथरुमको आवश्यकता हुन्छ, त्यो पनि बनाउन थाल्नुभएको छ । कतिपय हाम्रा सम्पदा क्षेत्रहरूमा, गन्तव्यहरूमा ह्वीलचियर लिएर हिँड्न मिल्ने थिएन, अहिले त्यो चाहिँ बढ्दै गएको छ । थुप्रै नगरपालिका, पालिकाहरूले पनि पूर्वाधार निर्माण गर्दाखेरी यो पक्षलाई ध्यान दिन थाल्नुभएको छ । यसमा अब मुख्यतः हाम्रो आईडिया के हो त भन्दाखेरी एउटा नयाँ सेग्मेन्ट अफ टुरिजम हामीले नेपालमा ल्याउन सकौँ र फरक क्षमता भएका नेपालीहरूले पनि पर्यटनसँग जोडिएर केही लाभ लिन सक्नुहोस् भन्ने विचारले यो कार्यक्रम सुरू गरेका हौँ ।’
उनले यस्ता तालिमहरू आवश्यकताका आधारमा आगामी दिनमा पनि सञ्चालन गर्दै जाने बताए । उनले महिलाहरूको लागि पनि छुट्टै महिला गाइड नै उत्पादन गरिएको जानकारी दिँदै बहिराहरूको लागि पनि मागको आधारमा जनशक्ति तयार गर्ने बताए । साथै तालिम लिएकाहरूलाई आगामी दिनमा एड्भान्स लेभल पनि दिने जानकारी दिए ।
नाथमका प्रिन्सिपल अजयकुमार ढकालले नेपालकै पर्यटन इतिहासमा बहिरा समुदायका लागि ट्रेकिङ गाइड तालिम पहिलोपटक गरिएको बताए । देशभरिबाट आएका ५०–६० बढी आवेदक मध्ये २५ जना छनोट गरी तालिम सञ्चालन भइरहेको उनले जानकारी दिए । राष्ट्रिय बहिरा महासंघ, नेपालले छनौट गरेर पठाएको उनको भनाइ छ । देश विदेशका धेरै बहिरा पर्यटकहरू नेपाल घुम्न आउने गरेको तथ्यलाई ध्यानमा राखेर यो तालिम सुरू गरिएको हो । उनले बिहान ७ बजेदेखि साढे १० बजेसम्म तालिम दिइरहेको बताए ।
उनले भने, ‘उहाँहरूको एउटा आफ्नै संसार छ । उहाँहरूको एउटा आफ्नै गतिविधि र नेटवर्किङमा हुने रहेछ । त्यो कुरा पनि हामीले थाहा पायौँ । हामी एकदम उत्साहित भयौँ र यो चुनौतीका बाबजुद सहकार्य गरेर यो तालिम सञ्चालन गरेका हौँ । त्यसमध्ये केही बहिरा साथीहरूले आफ्नै हिसाबले पनि एभरेस्ट बेस क्याम्प, अन्नपूर्ण बेस क्याम्पतिर ट्रेकिङ गरिराख्नुभएको रहेछ । त्यसले हामीलाई थप ऊर्जा दियो । हामी झनै उत्साहित भयौँ र गरौँ भन्ने हिसाबले एउटा एमओयू गरेर, त्रिपक्षीय एमओयू गरेर हामीले यो तालिम सञ्चालन गर्यौँ । र यो तालिममा २५ जना चाहिँ पार्टिसिपेन्ट्सहरू रहेका छन् ।’
उनले सहभागीहरू उत्साहित भएर तालिम लिइरहेको जानकारी दिए । उनले नाथमबाट तालिम लिएर गएपछि तत्काल रोजगारीका लागि योग्य हुने बताए । विदेशी पाहुनालाई नेपालका डाँडाकाँडामा, गाउँघरमा लगेर ट्रेकिङ गराउने र त्यहाँका ग्रामीण, सांस्कृतिक, धार्मिक, प्राकृतिक कुराहरू बताएर एउटा नेपाल चिनाउने काम उनीहरूले गर्ने उनको विश्वास छ । उनले आगामी दिनमा नाथमले यस्ता किसिमका तालिमलाई विशेष जोड दिने जानकारी दिए । यो तालिम नेपालकै पर्यटन क्षेत्रको इतिहासमा राम्रो, नौलो र एउटा प्रभावकारी तालिम हुने उनको दाबी छ । तालिम पश्चात उनीहरूको रोजगारीका लागि पर्यटनसँग सम्बन्धित संस्थाहरूसँग सहकार्य गरेर सहजीकरण गर्ने पनि उनले जानकारी दिए ।
उनले भने, ‘सहभागीहरूले अहिलेसम्म राम्रो बुझेको, पठनपाठनमा कुनै बाधा नभएको, सहज तरिकाले गएको भनेर उहाँहरू पनि उत्साहित हुनुहुन्छ । यो चाहिँ पाँच हप्ते तालिम हो । लगभग हामीले आधाको छेउछाउमा आइपुगेका छौँ । हामी प्रयोगात्मकको लागि काठमाडौं भ्यालीको छेउछाउमा एक अथवा दुई रातको स्टे गराएर उहाँहरूलाई क्याम्पीङ, रक क्लाइम्बिङ लगायतका कार्यहरू पनि सिकाउँछौँ । लाइसेन्स प्राप्त गरिसक्नु भएपछि उहाँहरूले विदेशबाट विशेष गरी बहिरा कम्युनिटीकै गेस्टहरू नेपालमा आउँदा नेपाललाई चिनाउने, नेपालका डाँडाकाँडामा, गाउँघरमा लगेर ट्रेकिङ गराउने र त्यहाँका ग्रामीण, सांस्कृतिक, धार्मिक, प्राकृतिक कुराहरू बताएर एउटा नेपाल चिनाउने काम गर्नुहुनेछ । उहाँहरूले यो क्षेत्रमा एउटा चाख देखाउनुभएको छ । यो एउटा उदाहरणीय हो । हामीले यस्ता किसिमका तालिमलाई विशेष जोड दिने भन्ने एउटा सोच बनाएका छौँ । यो तालिम जहाँसम्म लाग्छ एउटा हाम्रो नेपालकै पर्यटन क्षेत्रको इतिहासमा एउटा राम्रो, नौलो र एउटा प्रभावकारी तालिम हुनेछ ।’
करिब १० लाख रुपैयाँ अनुमानित लागतमा सञ्चालन भइरहेको यो तालिम पाँच हप्ता चल्ने उनले जानकारी दिए । तालिममा सहभागीहरूलाई खाजा, खाना, प्रशिक्षक शुल्क, फील्ड भिजिट तथा यातायातका सबै खर्च परियोजनाले व्यहोर्ने व्यवस्था छ । तालिम प्रत्येक दिन बिहान ७ बजेदेखि साढे १० बजेसम्म सञ्चालन भइरहेको उनले बताए ।
३० वर्षदेखि नाथममा सेवारत पर्यटन तालिम संयोजक रतनबहादुर साउदले पाँच हप्ते तालिममा चार हप्ता सैद्धान्तिक र एक हप्ता व्यावहारिक कक्षाहरू राखिएको जानकारी दिए । उनकाअनुसार सैद्धान्तिक कक्षामा ट्रेकिङ, फर्स्ट एड, भूगोल, वातावरण, संस्कृति–धर्म, कोड अफ कन्डक्ट, गाइडिङ टेक्निकलगायत १७–१८ विषय समावेश छन् । व्यावहारिक कक्षामा क्याम्प व्यवस्थापन, हाइकिङ, क्याम्पिंग, रक क्लाइम्बिङ, पर्यावरण संरक्षण तथा आतिथ्य व्यवस्थापन सिकाइने उनले जानकारी दिए ।
उनले भने, ‘ट्रेकिङ, फर्स्ट एड, फ्लोरा फाउना, इन्भाइरोमेन्ट, जियोग्राफी, कल्चर, रिलिजन, अनि कोड अफ कन्डक्ट, गाइडिङ टेक्निक, टुरिजमदेखि केही कानुनका कुराहरू थपेर करिब–करिब १७–१८ वटा विषयहरू चाहिँ सैद्धान्तिक रूपमा पढाइ हुन्छ । त्यसैगरी व्यावहारिक रूपमा चाहिँ क्याम्प व्यवस्थापन, लिडरसिप, हाइकिङ, ट्रेकिङ र क्लाइम्बिङ सम्बन्धी पढाइ हुन्छ । हामीले यसमा पर्यावरणको विषयमा कसरी जगेर्ना गर्ने र सरसफाइको कसरी व्यवस्थापन गर्ने, भोलि फिल्डमा जाँदाखेरी टुरिस्टहरू जाँदाखेरी खानपिनदेखि लिएर हरेक चिज, हस्पिटालिटीका कुराहरूलाई हामीले व्यावहारिक कक्षाका रूपमा चाहिँ हामीले सिकाउने गर्दछौँ । अब यो पाँच हप्ताको कोर्सलाई यसरी हामीले ४ प्लस १ हप्ता गरेर ५ हप्ताको व्यावहारिक कक्षाहरू गर्छौँ ।’
उनले तालिमको क्रममा मूल्यांकन समेत गरिने जानकारी दिए । मूल्यांकन लिखित परीक्षा, अनुशासन, उनीहरूको रूचिको आधारमा गरिने बताए । १०० पूर्णाङ्कमा मूल्यांकन गरेर ग्रेडिङ ए, बी, सी गरेर तीन वटा ग्रेडमा सर्टिफिकेट दिने उनको भनाइ छ । यो सर्टिफिकेट नाथमले दिइसकेपछि उनीहरूले लाइसेन्स पाउने र लाइसेन्स प्राप्त गरिसकेपछि नेपालको कुनै पनि क्षेत्रमा गएर ट्रेकिङ गाइडको रूपमा काम गर्न सक्ने उनले जानकारी दिए ।
उनले भने, ‘उहाँहरूलाई हामीले लिखित परीक्षा र उहाँहरूको क्लासमा निरन्तरता कस्तो छ ? समयको कति पालना गरेका छन् ? उनीहरूको पर्सनालिटीको कुराहरू लगायत सम्पूर्णलाई आधार बनाएर मूल्यांकन गर्छौँ । साथसाथै व्यावहारिक कक्षामा पनि उहाँहरूको इन्ट्रेस्ट के छ ? उहाँहरू कत्तिको जागरुक हुनुहुन्छ, कत्तिको त्यो कुरामा चाहिँ उहाँहरूले ध्यान दिनुभएको छ । कति व्यावहारिक कुरामा चाहिँ उहाँहरूले बुझ्नुभयो ? भन्ने कुराहरूबाट पनि उहाँहरूको मूल्यांकन हुन्छ । हामीले १०० मार्क्सको उहाँलाई मूल्यांकन गरेर ग्रेडिङ ए, बी, सी गरेर तीन वटा ग्रेडमा चाहिँ हामीले उहाँहरूलाई सर्टिफिकेट दिन्छौँ । यो सर्टिफिकेट नाथमले दिइसकेपछि नै उहाँहरूलाई यो पर्यटन कार्यालयबाट उहाँहरूलाई लाइसेन्सको व्यवस्था गर्ने व्यवस्था रहेको छ । त्यो लाइसेन्स प्राप्त गरिसकेपछि उहाँहरू नेपालको कुनै पनि क्षेत्रमा गएर एउटा ट्रेकिङ गाइडको रूपमा उहाँहरूले गाइड गर्न सक्नुहुनेछ ।’
उनले प्रत्येक कक्षामा सांकेतिक भाषाको लागि दोभाषेको व्यवस्था गरिएको जानकारी दिए । प्रशिक्षकहरूले भिजुअल, लेखन सामग्री, चित्र तथा सांकेतिक भाषाको सहायताले तालिम दिइरहेको उनले बताए । प्रशिक्षकबाट प्रशिक्षण गराएको कुराहरू दोभाषेको माध्यमबाट प्रशिक्षार्थीसम्म पुर्याउने गरेको उनको भनाइ छ । तालिममा २० वर्षदेखि ५५ वर्षसम्मका ४ महिला र २१ पुरुष सहभागी रहेका छन् । नाथमले हालसम्म करिब २२ हजार ट्रेकिङ गाइड उत्पादन गरिसकेको छ । उनकाअनुसार पहिलोपटक बहिरा समुदायका २५ जना थपिँदैछन्, जुन पर्यटन क्षेत्रमा समावेशीकरणको नयाँ मोड हो ।








