भरतपुर महानगरले धोका दियो, अब रंगशाला फर्कन्नँ : धुर्मुस

काठमाडौं । समाजसेवा र हास्यव्यङ्ग्यको माध्यमबाट नेपाली दर्शकको मनमा बस्न सफल कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण परियोजनाबाट हात झिकेको घोषणासँगै भरतपुर महानगरपालिकामाथि गम्भीर आरोप लगाएका छन् । महानगरपालिकाले आफूलाई निरन्तर झुलाएको र सम्झौता बमोजिमको रकम भुक्तानी नगरेको भन्दै धुर्मुसले अब महानगर कार्यालयमा कहिल्यै नफर्किने भावुक घोषणा गरेका छन् ।

धुर्मुसले भने, ‘म सहनशील मान्छे हुँ, धेरै सहेँ । भरतपुरवासीसँग मेरो कुनै गुनासो छैन । तर भरतपुर महानगरपालिकासँग मेरो स्पष्ट सम्झौता थियो । मलाई विधिवत् बिदाइ गरिन्छ भन्ने विश्वास थियो । तर, पाँच वर्षसम्म पनि कुनै उपाय आएन । भरतपुरवासीसँग फेरि भेट होला, तर महानगर कार्यालयमा आजको यो भेट नै अन्तिम हो । अब आउदिनँ ।’

धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माण सुरु गरेको यस महत्वाकांक्षी रंगशाला परियोजनामा करिब १८ करोड रुपैयाँ दायित्व बाँकी रहेको सरकारी प्रतिवेदनले देखाएको छ । यसअघि सरकारले भरतपुर महानगरमार्फत १५ करोड रुपैयाँ भुक्तान दिने घोषणा गरिसकेको थियो।  तर, धुर्मुसका अनुसार, महानगरले कागजपत्र नपुगेको भन्दै पटक-पटक उनलाई फर्काउने गरेको छ ।

रंगशाला परियोजनामा गहिरो गरी डुबेका धुर्मुस मानसिक रुपमा विक्षिप्त अवस्थामा पुगेको बताइएको छ । एकातर्फ परियोजनाको भारी आर्थिक बोझ र अर्कोतर्फ महानगरको असहयोगले उनलाई थकाएको देखिन्छ । यसभन्दा पनि पीडादायी पक्ष त उनकी एकमात्र छोरी दीर्घरोगी छिन् । यस्तो विषम परिस्थितिमा उनकी पत्नी कुञ्जना घिमिरेले भावुक हुँदै भनेकी छन्, ‘मैले धुर्मुसलाई अहिलेसम्म लतार्दै बचाएर ल्याएँ । अब उनलाई बचाउने जिम्मा जनताको हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + one =