स्वास्थ्य मन्त्रालय बिहीबार सिंहदरबार परिसर सर्ने

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबारदेखि सिंहदरबारबाटै सेवा प्रवाह गर्ने भएको छ ।

सिंहदरबार परिसरको दक्षिण–पश्चिमतर्फ रहेको नेपाली सेनाको नर्सिङ दल गणको खाली जग्गामा मन्त्रालय सञ्चालनको लागि अस्थायी संरचना निर्माण गरिएको र बिहीबारदेखि सोही क्षेत्रबाट कामकारबाही सुरु गर्ने तयारी भइरहेको मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले जानकारी दिए ।

उनकाअनुसार नेपाली सेनाको गण उत्तरतर्फ आफ्नै भवनमा सरेपछि विश्व स्वास्थ्य संगठनको सहयोगमा त्यहाँ रहेको खाली जग्गामा ६ वटा प्रिफ्याब भवन निर्माण गरिएका छन् । उनले गत भदौ २४ गते जेन–जी आन्दोलनको क्रममा आगलागीका कारण रामशाहपथस्थित स्वास्थ्य मन्त्रालयको भवन जलेर ध्वस्त भएको थियो ।

हाल नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को नयाँ भवनबाट स्वास्थ्य मन्त्रालयले काम गरिरहेको छ । प्रवक्ता बुढाथोकीले जनसंख्या महाशाखा र स्वास्थ्य आपत्कालीन केन्द्रबाहेकका सबै कारबाही बिहीबारदेखि स्वास्थ्य मन्त्रालयबाटै हुने जानकारी दिए । उनले बाँकी संरचनाको व्यवस्थापन भएपछि केही दिनमै मन्त्रालय पूर्ण रूपमा सिंहदरबार सर्ने बताए ।

उनले भने ‘भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुनः निर्माण गरेर बस्न लायक बनाउने स्थिति थिएन । त्यस अवस्थामा प्रधानमन्त्री कार्यालयसँग समन्वय गरेर सिंहदरबार कम्पाउण्डको दक्षिण–पश्चिम क्षेत्रमा नेपाली सेनाले प्रयोग गर्दै आएको खालि जग्गा माग गरेका थियौँ । र त्यो जग्गामा अस्थायी संरचना बनाउनको लागि हामीले विश्व स्वास्थ्य सङ्गठनलाई अनुरोध गरेका थियौँ । त्यहीअनुसार ६ वटा विल्डिङ र सेनाले विगतमा प्रयोग गरेका ६ वटा टहराहरूलाई पनि प्रयोग गरेर स्वास्थ्य मन्त्रालय सिंहदरबार सर्दै छ । ६ वटा प्रिफ्याब बिल्डिङ आज डब्लूएओको क्षेत्रीय प्रमुखले स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गर्नुभएको छ । र भोलिदेखि स्वास्थ्य मन्त्रालय सिंहदरबार सर्छ । तर अझै पनि इकाई, शाखा र केन्द्रहरूलाई समेत सार्न सम्भव नभएको हुनाले जनसंख्या महाशाखा र स्वास्थ्य आपत्कालीन केन्द्र हाल सोही भवनमा रहन्छ । र अबको केही दिनमा बाँकी दुई शाखाहरूलाई पनि सिंहदरबारबाटै सञ्चालन गर्छौँ ।’

मन्त्रालयको काम कारबाही सुरु गर्न सेनाले प्रयोग गर्दै आएका संरचनाहरूमा समेत रंगरोगन गरेर तयार पारिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =