संसद पुनः स्थापनको लागि एमाले निर्णायक सडक आन्दोलनमा जानुपर्छ: विष्णुप्रसाद पौडेल

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले देशमा भएको राजनीतिक घटनाक्रमलाई प्रतिगामी भन्दै त्यसका विरुद्ध पार्टी सडक आन्दोलनमा जानुपर्ने टिप्पणी गरेका छन् ।

मङ्गलवार पार्टीको विघटित संसदीय दलको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले गत भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलन संविधानमाथिको आक्रमण भएको जिकिर गरे । उनले अनधिकृत रूपमा संसद विघटन गरेर सांसदबाहिरबाट सरकार गठन गरिएको उल्लेख गर्दै यसका विरुद्ध निर्णायक आन्दोलनमा जानुपर्ने बताए । उनले जनतालाई सङ्गठित गर्दै प्रतिनिधि सभा पुनः स्थापनाका लागि निर्णायक आन्दोलन सुरु गर्नुपर्ने पार्टीको निष्कर्ष रहेको पनि बताए ।

उनले भने ‘गत भदौ २३, २४ को सिरानी हालेर देशमा जुन प्रकारको प्रतिगमन भएको छ यो प्रतिगमनको विरुद्धमा आन्दोलनमा जानुपर्ने, सडकमा उत्रिनुपर्ने जिम्मेवारीमा छौँ । हामीले सुविचार लिएर जनताको माझमा जानुपर्ने, जनतालाई सङ्गठित गर्नुपर्ने र आन्दोलित गर्नुपर्ने परिवर्तित भूमिकामा छौँ । हामीले हरेक परिस्थितिमा आफूलाई खरो रूपमा उतार्न सक्नुपर्छ जस्तो मलाई लाग्छ । हाम्रो पार्टीको पृष्ठभूमि र हाम्रो पार्टीको विगत पनि त्यस्तै छ । अहिले जुन ढंगले हाम्रो संविधानमाथि आक्रमण भएको छ । संविधानलाई घाइते तुल्याइएको छ । अनधिकृत रूपमा संसद विघटन गरिएको छ । र सदनभन्दा बाहिरबाट जुन ढंगको सरकार गठन गरिएको छ । यो सबै प्रतिगामी क्रियाकलाहरूका सम्बन्धमा हामी सङ्गठित रूपमा जनताका माझमा जाने। जनतालाई आन्दोलित गर्ने र निर्णायक आन्दोलनको बलमा हामीले प्रतिनिधि सभाको पुनः स्थापना गर्ने निष्कर्षमा हाम्रो पार्टी पुगेको छ । हामीले यसबीचमा धेरै महत्त्वपूर्ण छलफल पनि गरेका छौँ ।’

उनले मुलुकमा विकसित घटनाक्रम र पार्टीको भूमिकाका विषयमा पार्टी आन्तरिक छलफलमा जुटिरहेको समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =