औषधि व्यवसायीहरू आन्दोलनमा, ९ दिनभित्र माग पुरा नभए कडा आन्दोलन गर्ने

काठमाडौँ । औषधि व्यवसायीहरूले सरकारविरुद्ध आन्दोलन सुरु गरेका छन् ।

मङ्गलवार काठमाडौँको बिजुलीबजारस्थित औषधि व्यवस्था विभागको कार्यालयमा पुगेर उनीहरूले संशोधित औषधि ऐनमा राखिएको दण्ड, जरिवाना र संस्था खारेजी सम्बन्धी प्रावधान तत्काल खारेज गर्न माग गर्दै आन्दोलन सुरु गरेका हुन् ।

संस्थाको नवीकरण एक महिना भित्र नगरे स्वतः खारेज हुने लगायतका प्रावधान संविधानको समेत बर्खिलापमा आएकाले आफूहरूले त्यसको खारेजीको माग गर्दै आन्दोलनमा उत्रनुपरेको नेपाल औषधि व्यवसायी सङ्घ, काठमाडौँका महासचिव शुभमान श्रेष्ठले बताए ।

उनले सो माग आगामी नौ दिनभित्र सम्बोधन नभए आफूहरू कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिए ।

महासचिव श्रेष्ठले भने ‘अहिले संशोधन गरेर ल्याएको औषधि ऐन २०३५ को उपदफा ३ जहाँ हाम्रो नवीकरणको म्याद सिद्धिएको भोलीपल्ट हामीलाई हन्डे्रड पर्सेन्ट जरिवाना लगाउने व्यवस्था गरिएको छ । जुन नेपालको संविधानले पनि भन्दैन कि यसरी कारबाही गर भनेर । हामी एउटा स्वतन्त्र, पारदर्शी ढंगले व्यापार गर्ने व्यवसायी हौ । हामीलाई अपराधी जसरी दण्डजरिवान गर्नु कहाँको नियम हो ? यदि ३० दिनभित्र पनि नवीकरण भएन भने हाम्रो संस्थालाई रद्द गर्ने जुन व्यवस्था लिएर आएको छ । त्यसको हामी घोर विरोध गर्दछौँ । र त्यो उपदफा ५ पूर्णरुपमा खारेज गर्नुपर्दछ भन्ने हाम्रो मुख्य बटमलाईन माग हो ।’

औषधि ऐन, २०३५ लाई संशोधन गरेर बनेको ऐनमा एक महिनाभित्र संस्था नवीकरण नगरे स्वतः खारेज हुने व्यवस्था गरिएको छ । त्यसप्रति व्यवसायीहरूको आपत्ति छ । त्यसैगरी उनीहरूले समयमा नवीकरण नभए नवीकरण दस्तुर पनि सय प्रतिशत नै तिर्नुपर्ने सो ऐनको प्रावधान पनि मान्य नहुने भन्दै आक्रोश व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =