निर्वाचनबारे प्रधानमन्त्री कार्कीको नागरिक समाजका अगुवाहरूसँग छलफल

काठमाडौँ । आसन्न प्रतिनिधि सभा निर्वाचनबारे प्रधानमन्त्री सुशीला कार्कीले नागरिक समाजका अगुवाहरूसँग छलफल गरेका छन् ।
सोमवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र निष्पक्ष, भयरहित तथा स्वच्छ वातावरणमा निर्वाचन सम्पन्न गर्ने विषयमा प्रधानमन्त्री कार्कीले नागरिक अगुवाहरूसँग छलफल गरेको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
उनकाअनुसार घोषित मितिमा निर्वाचन सम्पन्न गर्नुका साथै मुलुकमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न गम्भीर भएर लाग्न नागरिक अगुवाहरूले सुझाव दिएका छन् । उनले मुलुकमा व्याप्त भ्रष्टाचार अन्त्य गरी स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनका निम्ति सहयोग गर्न नागरिक समाजले प्रतिबद्धता जनाएको समेत बताए ।
उनका अनुसार छलफल प्रधानमन्त्री कार्की राजनीतिक जोखिम व्यवस्थापनसँगै प्रशासनिक तयारीका लागि समेत सरकार दृढ रहेको जवाफ फर्काएकी थिइन ।
प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगको कार्यक्षमता बढाउन आयोगको नेतृत्वसँग निरन्तर संवाद गरिरहेको जानकारी गराएको पनि मन्त्री खरेलले बताइन् ।
घोषित मितिमा निर्वाचन सम्पन्न गर्नको लागि उचित वातावरण बनाउन नागरिक अगुवाहरूले दिएको सुझावलाई प्रधानमन्त्री कार्कीले सकारात्मक रूपमा लिएको नागरिक समाजका प्रतिनिधि खगेन्द्र सङ्ग्रौलाले बताए ।
छलफलमा नागरिक समाजका अगुवा प्रतिनिधिहरू इन्द्र अधिकारी, सुवोधराज प्याकुरेल, जेबी विश्वकर्मा, स्टेला तामाङ, विजयकान्त कर्ण, गीता शर्मा, दोभान राई लगायत थिए ।








