निर्वाचनअघि नै महाधिवेशन गर्नका लागि देउवामाथि काँग्रेस नेताहरुको दबाब

काठमाडौं । संस्थापनइतर नेपाली काँग्रेसका नेताहरुले निर्वाचन अघि नै महाधिवेशन गर्नुपर्ने पक्षमा आवश्यक निर्णय लिन पार्टी सभापति शेरबहादुर देउवालाई दबाब दिएका छन् ।

केन्द्रिय सदस्यद्धय तारामान गुरुङ, प्रतिमा गौतम र महाधिवेशन प्रतिनिधि सीता मिजारले समयमै महाधिवेशन गराउने अडानमा सभापति देउवाले पुस मसान्तभित्र महाधिवेशन सम्पन्न गर्ने निर्णय लिने विश्वास व्यक्त गरेका छन्

सिंगापुरको उपचारपछि स्वदेश फर्किएका सभापति देउवाले पार्टीका नेताहरुसँग निर्वाचनमा जाने तयारीका साथ छलफल अघि बढाईरहेको समाचार आउन थालेको छ । नेता तारामान गुरुङले विधानसम्मत ढंगले महाधिवेशन गरेर मात्रै निर्वाचनमा जानुको विकल्प नरहेको जिकिर गरे ।

उनले पार्टी सभापति देउवाले गत असोज २८ गते केन्द्रिय कार्य समिति बैठक शुभारम्भ गर्ने क्रममा समयमा नै महाधिवेशन गर्ने मत राख्नु भएको र सोही अनुसार पार्टी केन्द्रिय कार्य समितिले निर्णय गरेर पहिला महाधिवेशन हुनेमा आफूहरु विश्वस्त रहेको बताए ।

काँग्रेस केन्द्रिय कार्य समिति बैठक भोली (सोमवार) अपरान्ह २ बजे बोलाइएको छ । पार्टी सभापति देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्तान्तरण गर्दै सिंगापुर उपचारमा जानुअघि केन्द्रिय कार्य समिति बैठकमा समयमा नै महाधिवेशन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएकाले सोहीअनुसार पार्टीले महाधिवेशन गरेर मात्रै निर्वाचनमा जाने निर्णय लिने उनको तर्क थियो ।

अर्की केन्द्रिय सदस्य तथा निःवर्तमान प्रतिनिधिसभाकी सांसद गौतमले मुलुकले जेन–जी आन्दोलनपछि सुधारिएको काँग्रेस खोजेको भन्दै महाधिवेशन गरेर मात्रै निर्वाचनमा जान उपयुक्त हुने अडान राखिन् ।

उनले जनतामा भोट माग्न जान पनि काँग्रेसले महाधिवेशनमार्फत नयाँ नीति र नेतृत्व लिएर जानुपर्ने अवस्था आएको बताइन् । नेतृ गौतमले निर्वाचन पछि महाधिवेशनको कुनै अर्थ नरहेको समेत बताइन् ।

निर्वाचनअघि महाधिवेशन गर्नु नै पार्टीको वैधानिक बाटो भएको उल्लेख गर्दै काँग्रेसकी प्रतिनिधिसभाकी निःवर्तमान सांसद समेत रहनुभएकी महाधिवेशन प्रतिनिधि सीता मिजारले काँग्रेसले निर्वाचनअघि नै महाधिवेशन गरेर जाने निर्णय नै वैधानिक बाटो भएकाले यसको विकल्प अरु केही पनि हुन नसक्ने बताइन् ।

उनले काँग्रेस महाधिवेशन प्रतिनिधिहरुको ५५ प्रतिशतले महाधिवेशन पुस मसान्त भित्र गर्नुपर्ने माग गरेको र सोही माग वैधानिक भएकाले त्यसै अनुसार निर्णय गर्न उपयुक्त हुने धारणा राखिन् ।

महाधिवेशन प्रतिनिधि मिजारले काँग्रेसले आम निर्वाचनमा आफूलाई सबल ढंगले अघि बढाउन पनि महाधिवेशनमार्फत नयाँ नीति र नेतृत्वका साथ अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

महाधिवेशन प्रतिनिधि मिजारले निर्वाचनको वातावरण बनाउन पनि काँग्रेसले निर्वाचन अघि महाधिवेशनमा जानुपर्ने निर्णयसहित अघि बढ्नुपर्ने बताए ।

संस्थापनइतरका नेताहरुले महाधिवेशनलाई छलेर निर्वाचनमा जाने निर्णय गरिए आफूहरु सो निर्णय मान्य पक्षमा नरहेको जिकिर समेत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =