काँग्रेसको भावी दिशा-निर्देशनका विषयमा प्रदीप गिरी संस्थानले सुरु गर्यो छलफल

काठमाडौँ । नेपाली काँग्रेसको आन्तरिक कमजोरी हटाउने र पार्टीको मूल सिद्धान्तलाई जीवन्त बनाउने उद्देश्यले स्व। प्रदीप गिरी संस्थानले ‘आइडिया अफ काँग्रेस’ अन्तरक्रिया कार्यक्रमको सुरुवात गरेको छ ।
शनिवार राजधानीमा ‘आइडिया अफ काँग्रेस’ अन्तरक्रिया कार्यक्रमको सुरुवात गरिएको हो । पार्टीको राजनीतिक दिशा, संरचनागत समस्या, निर्णय प्रक्रिया र संगठन सुदृढीकरणका उपायहरूमा केन्द्रित यो छलफलले काँग्रेसलाई नयाँ ऊर्जा दिने अपेक्षा गरिएको छ ।
कार्यक्रममा बोल्दै युवा नेता सचिन तिमल्सिनाले पार्टीले पाएको २८ लाख मतमध्ये औपचारिक सदस्य मात्र ९ लाख रहेको तथ्याङ्क उजागर गर्दै बाँकी मतदाताहरू शुभेच्छुक भएको बताए ।
उनीहरूको धारणा सुन्नु आजको मुख्य आवश्यकता भएको उनको भनाइ छ । पार्टीभित्रको संरचनागत समस्या, टिकट वितरणको अस्पष्टता र नेतृत्वको एमालेसँग मिलेर सामाजिक सञ्जाल प्रतिवर्धतर्फको प्रस्तावलाई काँग्रेसको आधारभूत सिद्धान्तविपरीत भएको भन्दै आलोचना गरे ।
अर्का युवा नेता कञ्चन झाले मुलुकभरबाट एक सय भन्दा बढी युवा डेमोक्रेटहरूको सहभागितामा कार्यक्रम सञ्चालन भएको जानकारी दिए । डाक्टर, इन्जिनियर, वकिल, सामाजिक अभियन्ता र फिल्मकर्मीहरू जस्ता विभिन्न पेसाका विज्ञहरूले काँग्रेसको मूल विचार, पहिचान र वर्तमान राजनीतिक भूमिकामा खुला बहस गरेको उनको भनाइ छ । यो बहसले पार्टीको पहिचानलाई मजबुत बनाउने झाले बताए ।
अन्तरक्रियाबाट प्राप्त विचार, सुझाव र विश्लेषणलाई संस्थानले संकलन गरी विस्तृत प्रतिवेदन तयार पार्ने र नेपाली काँग्रेसको केन्द्रीय नेतृत्वसमक्ष बुझाउने भएको छ । यो प्रतिवेदनले पार्टीको आगामी दिशा–निर्देशन, नीतिगत अवलम्बन र संगठन सुधारमा संस्थागत टेवा पुर्याउने विश्वास लिइएको छ ।








