प्रधानमन्त्रीलाई एमाले सचिव विश्वकर्माको प्रश्न- अपराधमा संलग्नहरूलाई कारबाही गर्नु पर्दैन ?

काठमाडौँ । नेकपा (एमाले) का सचिव एवं पूर्वमन्त्री छविलाल विश्वकर्माले जेन–जी आन्दोलनमा आपराधिक गतिविधिमा संलग्नहरूलाई सरकारले तत्काल कारबाही गर्नुपर्ने माग गरेका छन् ।
शनिवार बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनमा घुसपैठ भई मुलुकमा गुण्डागर्दी गर्ने, निजी तथा सार्वजनिक सम्पत्तिलाई धराशायी बनाउनेहरूलाई सरकारले अझै कारबाहीको दायरामा ल्याउन नसकेको भन्दै आक्रोश समेत व्यक्त गरे ।
सचिव विश्वकर्माले जेलबाट भागेका कैदीहरूलाई नियन्त्रणमा लिने काम समेत नगरेको भन्दै प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको आलोचना समेत गरे ।
उनले भने ‘जसले घुसपैठ गरे । जसले यस खालको गुण्डागर्दी गरे । जसले यस खालको आतङ्कित गतिविधि गरे । जसले देशको सम्पत्ति, निजी सम्पत्ति, प्रतिष्ठानहरू । यसलाई धराशायी बनाउने काम गरे । अव यो सरकारले त्यो छानबिन गर्न पर्दैन ? ती अपराधीहरूलाई कानुनको दायरामा ल्याउनु पर्दैन ? जेलबाट हजारौँ कैदीहरू छुटेका छन् । तिनलाई ल्याउनका लागि यो सरकारले के गरिरहेको छ ? जनताको प्रश्न छ । त्यो जवाफ दिने सामर्थ्य सम्माननीय सुशील कार्कीसँग हुनुपर्छ कि पर्दैन ? गृह मन्त्रीसँग हुनुपर्छ कि पर्दैन ? यो सरकारसँग हुनुपर्छ कि पर्दैन ?’
सचिव विश्वकर्माले मुलुकलाई संकटबाट पार लगाउन आफ्नो पार्टीले सक्दो पहल गरिरहेको जिकिर समेत गरे ।








