महाधिवेशनको सर्वसम्मत कार्यतालिका सार्वजनिक गर्न बानियाँको माग

भक्तपुर । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवं बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पार्टी महाधिवेशनको सर्वसम्मत कार्यतालिका सार्वजनिक हुनुपर्नेमा जोड दिएका छन् ।

नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिको १३औँ पूर्ण बैठक एवं प्रदेशसभा संसदीय दलको संयुक्त बैठक आज उद्घाटन गर्दै उहाँले कांग्रेसको क्रियाशील सदस्यको विवाद टुङ्ग्याएर मात्रै महाधिवेशनको मिति तय गरेर एक ढिक्का भएर जानुपर्ने बताए ।

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा निर्वाचन अगाडि र निर्वाचन पछाडिको कार्यतालिका सार्वजनिक भएसँगै दलका नेता तथा कार्यकर्तामा अन्यौलता छाएको उनले बताए ।

पार्टीको केन्द्रीय बैठकमा महाधिवेशनको दुई वटा तालिका सार्वजनिक गरेर विवादमा ल्याएर कांग्रेसको अस्तित्व सिद्धिने बताउँदै मुख्यमन्त्री बानियाँले भने “केन्द्रीय समिति बैठकले पहिला विधान समिति बनाओस्, क्रियाशील सदस्य छानबिन समिति बनाओस् त्यसपछि छानबिन समितिले प्रतिवेदन बुझाएको १५ दिनभित्र महाधिवेशनको मिति तोक्ने काम हुनुपर्छ, महाधिवेशन निर्वाचन अगाडि र पछाडि भनेर विवाद नगरोस् ।”

बागमती प्रदेशको दुई दिन चल्ने बैठकले घनीभूत छलफल गरेर केन्द्रीय समितिलाई सुझाव दिने उनको भनाइ थियो । कांग्रेसलाई एक ढिक्का बनाएर लैजानुको विकल्प नभएको उनले बताए ।

कार्यक्रममा नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले प्रदेशको बैठकपछि कांग्रेसलाई एक ढिक्का बनाएर लजाने सन्देश दिँदै कांग्रेस भक्तपुरले छिट्टै ७७ वटै जिल्लाका कांग्रेस जिल्ला सभापतिहरुको भेला पनि भक्तपुरमै गर्ने तयारी गरेको बताए ।

कार्यक्रममा संयोजक कृष्णलाल भँडेलले पार्टी एकतालाई खल्बल्याउने गरी जान नहुने बताउँदै उनले महाधिवेशनमा जानु अगाडि पार्टीभित्रका सबै विवादलाई टुङ्याएर जानुपर्ने बताए ।

बैठकमा प्रदेश समितिका १३० जना सदस्य, ३७ जना पार्टीका प्रदेशसभा सदस्य, १३ जिल्लाका १३ जिल्ला सभापतिहरु, गरी १८० जनाको सहभागिता रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − four =