गगन थापाले राखे विशेष महाधिवेशनको प्रस्ताव

काठमाडौँ । नेपाल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको प्रस्ताव प्रस्तुत गरेका छन् ।

बैठकमा बहुमत रहेका संस्थापन पक्षका नेताहरूले प्रतिनिधिसभा चुनावअघि महाधिवेशन नगर्ने अडान लिइरहेका बेला थापाले २७–२८ मंसिरमा विशेष महाधिवेशन बोलाउनुपर्ने प्रस्ताव राखेका हुन् ।

यसअघि १८ कात्तिकको बैठकमा थापाले १६–१९ पुसमा नियमित महाधिवेशन गर्ने तालिका प्रस्ताव गरेका थिए, जुन अस्वीकृत भएको थियो । त्यसपछि संस्थापन पक्षका नेताहरूले सहमहामन्त्री महेन्द्र यादवमार्फत २७–२९ वैशाखमा महाधिवेशन गर्ने काउन्टर प्रस्ताव राखेका थिए ।

कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले २९ असोजमा विशेष महाधिवेशनको माग गर्दै निवेदन पेश गरिसकेका छन् । कांग्रेसको विधानको धारा १७ (२) अनुसार, ४० प्रतिशत प्रतिनिधिको हस्ताक्षरमा विशेष महाधिवेशनको माग आएको खण्डमा तीन महिना भित्र महाधिवेशन बोलाउनु पर्ने बाध्यात्मक व्यवस्था छ ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक २८ असोजदेखि जारी छ, र बैठकमा सबै पदाधिकारी र सदस्यहरूले बोल्न सक्ने मौका पाएका छन् । तर, महाधिवेशनको विषयमा पार्टी भित्रको मतैक्य नहँुदा कुनै निर्णय लिइएको छैन । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सबै पक्षसँग छलफल गरेर सहमति गरेर निर्णय लिने प्रक्रिया अघि बढाइने बताएका छन् ।

महाधिवेशनको समय निर्धारणको विषयमा संस्थापन पक्षभित्र दुई धारका मत रहेका छन् । संस्थापन पक्षका सात पूर्वपदाधिकारीहरूले निर्वाचनअघि महाधिवेशन नगर्नुपर्ने अडान राखेका छन् भने अर्कोतर्फ केही नेता नियमित महाधिवेशनको तालिका तय गर्नु पर्ने पक्षमा छन् ।

संस्थापन पक्षका केही नेताहरूले सभापति शेरबहादुर देउवालाई सक्रिय बनाउने तयारी गरेका छन् । एक पदाधिकारीका अनुसार, देउवा सिंगापुरबाट फर्केपछि महाधिवेशनको बारेमा संस्थापन पक्षको एक धारणा बन्ने अपेक्षा गरिएको छ । त्यसपछि विशेष महाधिवेशन चाहने महामन्त्रीहरूसँग संवाद गरेर सहमतिको प्रयास गरिने स्रोतले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + sixteen =